पोखरा, १७ कात्तिक : गण्डकी प्रदेश सरकारको आयोजना एवं चीन सरकारको चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा सञ्चालन हुनलागेको गाईपालन परियोजना सञ्चालनका लागि शनिबार तनहुँको शुक्ला गण्डकी नगरपालिका–१२ मा स्थलगत अवलोकन गरिएको छ ।
गण्डकी प्रदेशका निमित्त प्रमुखसचिव गणेश पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाल, गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका पदाधिकारीसहितको टोलीले परियोजना सञ्चालनस्थल अवलोकन गरेको हो ।
गण्डकी काउ फार्म एण्ड रिसर्च सेन्टरका सदस्य हर्क गुरुङका अनुसार टोलीले परियोजना सञ्चालनस्थल, त्यहाँको भूगोल, सम्भाव्यता एवं चुनौतीलगायतका विषयमा जानकारी लिएको थियो । चाइना सिएएमसी इञ्जिनीयरिङ कम्पनी लिमिटेडको सहयोगमा गण्डकी प्रदेश सरकारले सञ्चालन गर्ने गाईपालन परियोजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाका झग्रेडाँडा, जाउनेपन्ध्रे, झर्लाङी, चुनीडाँडालगायतका स्थानमा गाईपालन गर्न लागिएको गुरुङले जानकारी दिए ।
समुदायलाई गाईपालनमार्फत आर्थिक समृद्धितर्फ उन्मुख गराउने परियोजना सञ्चालन हुने तयारीसँगै स्थानीयवासी उत्साहित भएको उहाँले बताउनुभयो । परियोजना सञ्चालन गर्न लागिएको यो ठाउँ तनहँुको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किमी दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्दछ ।