काठमाडौँ, १५ मंसिर । । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीका ६० जना नेता तथा कार्यकर्ता चीन भ्रमणमा जान लागेका छन् ।
यही मंसिर २४ गते जाने टोलीमा पार्टीका स्थायी कमिटी तथा केन्द्रीय समितिका सदस्यहरू रहने नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । टोलीमा ६० जना जाने तयारी भइरहेको छ तर को–को जाने त्यसको टुङ्गो नलागेको बताए। उनले भने, “टोलीमा पार्टी केन्द्रीय कमिटीभन्दा बाहिरका पनि नेता हुन सक्छन् । ” पौडेलले चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै केन्द्रीय कमिटी सदस्यलाई चीन घुमाइसक्ने योजना रहेको जानकारी दिए। उनले भने, “चिनियाँ कम्युनिस्ट पार्टीले एक वर्षभित्र नेकपाका सबै नेतालाई चीन भ्रमण भनेको छ, सोही योजनाअनुसार पहिलो टोली प्रचण्डको नेतृत्वमा जान लागेको हो । ’’ चीनले नेकपाका मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्तालाई समेत चीनमा आमन्त्रण गर्ने कार्यक्रम आफूलाई जानकारी भएको उनले बताए ।
पार्टी स्कुल विभागका उपप्रमुख वेदुराम भुसालले भ्रमण टोलीमा को–को जाने सूची तयार भइरहेको बताउँदै चीनले गरेको विकासका कामहरू अवलोकन गराउनुका साथै केही सैद्धान्तिक छलफल पनि हुने बताए। यसअघि चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेको थियो भने चिनियाँ कम्युनिस्ट पार्टीले नेकपासँग नेपालमा बृहत् अन्तरक्रिया कार्यक्रम गरिसकेको छ । सोही अन्तरक्रिया कार्यक्रमअन्तर्गत नेकपा नेताहरूको भ्रमण हुन लागेको हो ।
अध्यक्ष प्रचण्ड तीन दिनमा फर्किने छन्, अन्य नेता १० दिनसम्म त्यहीँ रहने नेता पौडेलले बताए। पार्टीका अध्यक्ष प्रचण्डले शनिबार आयोजित एक कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आफूले एक टोलीको नेतृत्व गर्दै चीन जान लागेको जानकारी गराए। यो पहिलो टोलीको नेतृत्व प्रचण्डले नै गरेर आउनुपर्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओली र आफूलाई समेत भनेको पौडेलले स्पष्ट पारे।
गोरखापत्र दैनिकबाट