Logo

सभामुखमा कांग्रेसको दाबी छ : जोशी



काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको गुनासो पोखे । उनले भने,‘देशमा यत्रो समस्या छ, यसका बारेमा संसदलाई जानकारी हुनुपर्छ । यस विषयमा संसदमा छलफल हुनुपर्ने हो ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संविधानमा स्पष्ट रुपमा लेखिएको सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन भन्ने व्यवस्थालाई वर्तमान सरकारले बेवास्ता गरेको र संविधान नै नाघेर अघि बढेको पनि आरोप लगाए । उनले भने,‘अहिले संविधान नाघिएको छ । संविधानको मर्म र भावनालाई कुल्चने काम भयो । हामीले यसका विरुद्धमा संसद र अन्य ठाउँमा सशक्त आवाज उठायौं ।’

जोशीले सबै दल मिलेर संविधान बनाएको बताउँदै यसलाई पालना गर्नु सबैको कर्तव्य भएको सुनाए । उनले भने,‘सरकारले संविधानको मर्म र भावनालाई ग्रहण गरोस् ।’ संवैधानिक परिषदमा पनि सबैलाई समेटेर बढ्नुपर्नेमा अहिले सरकार दुई तिहाईको दम्भमा पेलेर अघि बढ्न खोजेको उनको टिप्पणी छ ।

उनले भने,‘प्रतिपक्षी भनेको वेटिङ गभर्मेन्ट हो । अहिले सरकारले विभिन्न विद्येयक ल्याउँदापनि लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चेर र यसको विरुद्धमा ल्याएको छ ।’ जोशीले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहेको सुनाए । उनले भने,‘हामी अपोजिशन पार्टी हौं, सभामुखमा हाम्रो दाबी छ ।’

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएकोले सरकारले कुटनीतिक पहलमार्फत सीमा विवादको समाधान गर्नुपर्ने बताए । उनले भने,‘तर, सरकारले अहिलेसम्म कुटनीतिक पहल चाल्नको लागि कुनै गाम्भिर्यता देखाएन् । यो अवधिमा अहिलेसम्म एउटा पत्रमात्रै पठाएको छ । जनतालाई जानकारी दिनुपर्छ । यो विषयमा संसदलाई पनि थाहा दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्