Logo

ललितघुम्ती सडक सारेर अवैधानिक प्लटिङ (पहिले र अहिलेको तस्बिरसहित)



यसअघिको सडक जसलाई भूमाफियाले बिगार्दैको दृश्य

काठमाडौं, २१ मंसिर । भू-माफियाले रणनीतिक महत्वको ललितघुम्ती नै सारेर प्लटिङ गरेका छन् । ललितपुरको गोदावरी नगरपालिकाबाट महालक्ष्मी नगरपालिका जाने रणनीतिक महत्वको ललितघुम्ती नै अर्को स्थानमा पुर्याएर भूमाफियाले प्लटिङ गरेका हुन् । यो क्षेत्र पर्यटकीय महत्वको पनि हो जहाँ विशंखुनारायण मन्दिर पर्दछ ।

विगत छ महिनायता यो क्रम चलिआएपनि जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी मात्र नभई जनप्रतिनिधिले समेत आँखा चिम्लिदिएका छन् । ललित घुम्ती नै सार्न लागिएको जानकारी जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख भगिरथी पाण्डेलाई जानकारी भएपनि उनले बेवास्ता गरेका थिए । रिपोर्टर्स नेपालले यसबारे दुई महिना अघि सोध्दा उनले व्यक्तिगत जग्गा हो भनी पन्छिएका थिए ।

गोदावरी नगरपालिका-१ का वडाध्यक्ष हरिहर कार्कीले आफूलाई यसबारे जानकारी नभएको बताए । उनले भने, बाटो नै सारिएको भन्ने जानकारी छैन, कसैले उजूरी पनि गरेको छैन । तर, रिपोर्टर्स नेपालले पटक पटक तस्बिरसहित ललितघुम्ती सार्ने तयारी भएको समाचार प्रकाशन गरेको थियो ।

वनका रुख सखाप पारिंदा पनि जिल्ला वन कार्यालयले आँखा चिम्लिएको छ । वन कार्यालयको भूमिकामाथि समेत स्थानीयले शंका गरेका छन् । प्रहरी प्रशासन र जनप्रतिनिधि समेत सयौं वर्ष देखि चलेको बाटो र पछिल्लो समय ललितघुम्तीको रुपमा विस्तार भइसकेको बाटो सारिंदा मौन बस्नुले गम्भीर प्रश्न उठेको छ ।

भूमाफियाले यसरी वन र बाटो दुवै बिगारे

घटनाबारे ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले गम्भीरता प्रकट गरे । उनले आफूले यसबारे इञ्जिनियरसँग कुरा गरेर आवश्यक कदम चालिसकेको बताए । मेयर गजेन्द्र महर्जन विदेशमा रहेकाले उनको मोबाइल स्वीच अफ रहेको भेटियो ।

भूमाफियाले यसरी वन र बाटो दुवै बिगारे

वन सखाप पारेर प्लटिङ गर्न चरण चरणको कदम चालिएको पाइएको छ । यसमा भूमाफियाले ठूलो आर्थिक चलखेल गरेको तथ्य रिपोर्टर्स नेपालले फेला पारेको छ । तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्