२२ मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को पुरुष क्रिकेटको उपाधि श्रीलंकाले हात परेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पुरुष क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई ९ विकेटले हराउँदै स्वर्ण पदक हात पारेको हो।
पहिलो ब्याटिंग गर्दै बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनाएको थियो । १५१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १६.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
श्रीलंकाका लागि लासिथ क्रुसपुल र पाथम निसंकाले अर्धशतक बनाएका थिए । विष्फोटक ब्याटिङ गरेका लासिथले ४१ बलमा ७३ रन जोडेका थिए । त्यस्तै पाथम निसंकाले ६७ रनको योगदान गरेक थिए । बंगलादेशका लागि एक मात्र विकेट मेहेदी हसन रानाले लिन सफल भएका थिए ।
यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि यासिर अलीले सर्वाधिक ५१ रन बनाएका थिए । त्यस्तै महिदुल स्लाम अंकनले ४४ र जाकिर हसनले २० रन जोड्न सफल भएका थिए भने अन्य ब्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् ।
बंगलादेशलाई मध्यम योगफलमा समेट्न श्रीलंकाका आशिथ फर्नान्डोले २ विकेट लिए। त्यस्तै कभिष्का अन्जुला, जेहान ड्यानिएल र शम्मु असनले १र१ विकेट जोडेका थिए ।