काठमाडौं, २३ मंसिर । भारत, पाकिस्तान टकरावको बन्दी बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क स्थापना भएको आइतबार ३५ वर्ष पुगेको छ। यसलाई गति दिन यी दुईसहित सबै सदस्य राष्ट्र नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तान तयार देखिएका छन्।
त्यहीअनुरूप उनीहरूले ३५ औं स्थापना दिवसको अवसरमा प्रतिबद्धतासमेत व्यक्त गरे। प्रतिबद्धता जनाए पनि पाकिस्तानमा हुनुपर्ने सार्कको १९ औं शिखर सम्मेलनको मिति तय हुन सकेको छैन। काठमाडौं घोषणा पत्र ९२०१४ नोभेम्बर जारी भएको पनि ५ वर्ष बितिसकेको छ। २०१६ नोभेम्बरमा पाकिस्तानले शिखर सम्मेलनको अन्तिम तयारी गरेको थियो। भारत(पाकिस्तान ‘टसल’ कै कारण त्यो सम्मेलन स्थगित भयो। वर्णानुक्रमअनुसार यतिबेला पाकिस्तानले मात्र होइन श्रीलंकाले समेत शिखर सम्मेलन गरिसक्नुपर्ने थियो। तर भारत(पाकिस्तानका कारण सार्क चार्टर डेका दिनमा सम्झने गर्ने थलो मात्र बनाए। यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने, आपसी सहकार्य बढाउने, व्यापार प्रवद्र्धन गर्ने, आतंकवाद र उग्रवादविरुद्ध संयुक्त युद्ध लड्ने र निर्मूल पार्ने, साझा भिसा लागू गर्नेदेखि साझा मुद्रासम्मको तयारी गरेको सार्क यतिबेला दिशाहीन बनेको छ। सडक र रेल सञ्जाल मात्र होइन नेपालसहित सबै सदस्य राष्ट्रसँग फेरीसमेत चलाउने तयारी गरिएको थियो।
कर्मचारी तहको नियमित बैठक र छलफलबाहेक सहकार्यका अन्य सबै काम अवरुद्ध छन्। सार्कका महासचिव अम्जद हुसेन बी सियाल सार्क शिखर सम्मेलनमा सहभागी समेत नभइ बिदा हुनेछन्। दुई महिनापछि उनको कार्यकाल सकिँदैछ। उनी सार्क शिखर सम्मेलन भएर यस्ता समस्या चिर्दै आपसमा सहकार्य गरेर सदस्य मुलुक अघि बढ्नेमा विश्वस्त छन्। यस्तो अवस्थामा समेत सदस्य राष्ट्रले सार्क साढे तीन दशक पार गरेको भन्दै ३५ औं ‘सार्क चार्टर डे’मा सकारात्मक सन्देश पठाएका छन्। सबै सदस्य राष्ट्रले सार्क चार्टरमा हस्ताक्षर भएको दिनलाई सार्क डे मनाउने र यस्तो सन्देश पठाउने गरेका छन्। सन् १९८५ डिसेम्बर ८ मा सार्कका सदस्य राष्ट्रका सरकार प्रमुखले बंगलादेशको ढाकामा आयोजित पहिलो शिखर सम्मेलनमा स्थापनाको चार्टरमा हस्ताक्षर गरेका थिए। त्यसैले डिसेम्बर ८ लाई चार्टर डे मनाउने गरेका छन्।
१८ औं शिखर सम्मेलनले चार्टरमा परिवर्तन गरेर बर्सेनि हुने शिखर सम्मेलनलाई दुई÷दुई वर्षमा गर्ने गरि पारित गरेको थियो। प्रधानमन्त्री केपी ओलीले सार्क चार्टर डेका अवसरमा शुभकामना व्यक्त गर्दै सबै सदस्य मुलुकसँग सार्कलाई गति दिन आवश्यक रहेकाले गति दिन आग्रह गरेका छन्। उनले १९८५ पछि क्षेत्रीय साझेदारीका क्षेत्रमा सार्कले प्रगति गरेको र थप सहकार्य गर्दै यस क्षेत्रका जनताबीच अन्तरसम्बन्ध कायम गर्नुपर्ने सन्देशमा उल्लेख गरेका छन्। सार्कलाई पुनर्जीवन दिनुपर्ने तथा समयमै सम्मेलन गरेर अघि बढ्नुपर्ने धारणासमेत उनको छ। दक्षिण एसियाको शान्ति र स्थायित्वका लागि आतंकवाद नै सबैभन्दा ठूलो खतरा रहेको बताउँदै सबैखाले आतंकवाद अन्त्य गर्न जोड दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्कको संस्थापक सदस्यको नाताले भारत क्षेत्रीय साझेदारीलाई मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन्। उनले सार्कलाई गति दिन यस क्षेत्रको शान्तिमा पहल हुनपर्ने भन्दै कुनै पनि किसिमको आतंकवादविरुद्ध सहकार्य अपरिहार्य रहेको बताए। उनले सार्क यस क्षेत्रको सहकार्यको मापदण्ड रहेको पनि उल्लेख गरेका छन्। माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीहले पनि सार्क सहकार्यमा जोड दिएका छन्। उनले यस क्षेत्रको विकास र शान्तिका लागि सार्क अपरिहार्य रहेको बताएका छन्।
श्रीलंकाका गोटाभया राजापक्षले पनि सहकार्य गर्दै सार्कलाई अघि बढाउनुपर्ने बताएका छन्। उनले श्रीलंका सार्कका लक्ष्य र उद्देश्य पूरा गर्न सक्दो योगदान गर्न प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गरेका छन। भुटानका प्रधानमन्त्री डा। लोते छिरिङले पनि सार्क यस क्षेत्रको अपरिहार्य संगठन रहेको बताए। बंगलादेशका विदेशमन्त्रीले सरकारका तर्फबाट भन्दै सन्देश दिएका छन्। सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानको सन्देश उपलब्ध छैन। सार्क महासचिव सियालले पनि सहकार्य अपरिहार्य रहेको बताएका छन्। सार्कको अध्यक्ष भएको नाताले नेपालले शिखर सम्मेलन गराउन जोड दिनुपर्ने हुन्छ। तर नेपाल त्यसतर्फ खासै अग्रसर देखिएको छैन। नेपालले संयुक्त राष्ट्र संघमा जाँदा न्युयोर्कमा सार्कका विदेशमन्त्री स्तरीय साइडलाइन बैठक गरे पनि त्यसमा भारत र पाकिस्तानका विदेशमन्त्री एकसाथ सहभागी भएका थिएनन्। दुवै देशका मन्त्रीले सार्कमा प्रतिबद्धता जाहेर गर्दै सहकार्य गर्ने बताएका थिए।
सार्कलाई अघि बढाउने, सहकार्य गर्ने यस्ता हजारौं प्रतिबद्धता भारत(पाकिस्तानले व्यक्त गरेका भए पनि कार्यावन्यन भने अहिलेसम्म गरेका छैनन्। यस क्षेत्रमा विकासको बाधक भनेकै आतंकवाद रहेकाले यसविरुद्ध सार्कका सबै सदस्य राष्ट्र सहकार्य गर्न तयार हुने र निर्णय कार्यावन्यन गर्न सके सार्क अघि बढ्नेमा दुईमत छैन। विज्ञहरूले सार्कलाई साढे तीन दशकदेखि स्टार्ट भएको इन्जिनका रूपमा लिएका छन्। स्टार्ट इन्जिनलाई गेयर लगाएर गति बढाउन जटिल समस्या त छन् तर खिया नै लागेर गुडाउनै नसकिने अवस्था भने नरहेको बताउँदै आएका छन्।
अन्नपूर्ण पोष्ट्बाट