Logo

शिवलेक सभ्यता



काठमाडौँ, २ पुस । सन् १७८६ मा विलियम जोन्सले केही एसियाली भाषा र इन्डो–युरोपियन भाषाहरूको माउ भाषा एउटै हुनुपर्छ भन्ने— पछि प्रोटो इन्डो–युरोपियन भन्न थालिएको भाषाको— सम्भावनालाई अघि सारे । त्यसयता यसलाई सत्य हो भनी पुष्टि गर्न प्रशस्त प्राज्ञिक कसरत भएका छन् र अब त्यो बाटो वेहरमाट जर्मन भाषामा घरसम्म पुगिसकेको छ । त्यसमाथि टीकाटिप्पणी र विश्लेषण गर्नतिर म लाग्दिनँ । यति बेला त्यसको सत्यता, असत्यताप्रति पनि आफूलाई लागेका कतिपय धारणालाई लिएर केही भन्न चाहन्नँ ।

तर, क्युर्गान हाइपोथेसिसका नाममा प्रोटो इन्डो–युरोपियन सभ्यता भन्दै विश्वसभ्यताको केन्द्र रूसी स्टेपी हो भन्ने अवधारणाको मूलधार स्थापना गर्न मारिया गिम्बुटाजले गरेको मेहनतसँग म परिचित छु । त्यसको खण्डनमा उत्रिएका र वेहरमाट आर्मेनिया हो भन्ने हाइपोथेसिसका जन्मदाता टमाज ग्रामलिट्जे र भी।भी। इभानोभ, आनातोलिया हो भन्ने कलिन रेनफ्र्यु, पाषाण युग हो भन्ने मारियो अलेनेई एवं गंगाको मैदान हो भन्ने कनराड एस्टका सामग्रीहरूसँग पनि म परिचित छु । ‘शिवलेक’ लाई अंग्रेजहरूले बिगारेर ‘शिवालिक’ बनाइदिएका छन् । त्यसमाथि ‘शिवालिक हिल्स’ लेख्छन् । यो हास्यास्पद छ । लेक भनेकै हिल्स हो । आजभोलि ‘शिवलेक’ नाम चलनचल्तीबाहिर पुगिसकेको छ । यसलाई चुरे भन्छन् । अंग्रेजहरूले फेरि पनि ‘चुरे’ लाई बिगारेर ‘चुरिया हिल्स’ बनाइदिएका छन् । स्थानीय भाषाका अर्थ नबुझे पनि जानेको छु जस्तो देखाउनुपर्ने मिथ्या अहं यहाँ छ । संस्कृतको ‘चूर्ण’ अर्थात् धूलोबाट ‘चुरे’ भएको छ । किनभने यो धेरै पुरानो उच्च शृंखला हो । ढुंगाहरू चर्किएर फुटेर धूलोजस्तै भइसकेका छन् ।

अफगानिस्तानको सुबुतगाईदेखि पूर्वी इन्डियामा पर्ने ब्रह्मपुत्र नदीको किनारसम्म पुग्छ यो । नेपालको सिमाना छोडेर पश्चिम लाग्दा यसले अहिलेको मोहनजोदारो सभ्यतालाई चाहिँ अलिकतिले मात्र छुँदैन । त्यसबाट उत्तरमा अलग छ यो । अनि यही शृंखलालाई उत्तरको केही मैदानी भाग पनि छोडिदिएर हिमालय शृंखला उठ्न सुरु गरेको छ । यो पनि पश्चिममा नाङ्गो पर्वतदेखि पूर्वमा नाम्चा बरुवासम्म चौबीस सय किलोमिटर लामो भूभागमा पसारिएको छ । शिवलेकको एकतिहाइ ९८०० किलोमिटर० दक्षिणमा र हिमालयको एकतिहाइ ९८०० किलोमिटर० उत्तर लिएर नेपाल बनेको छ । यी दुई शृंखलामा नेपालका दुई गोडाले टेकेका छन् । यिनै दुई शृंखलाले अन्योन्याश्रित संस्कृति बनाएर आदियुगमा विश्वलाई जुन सभ्यताले सिञ्चित गरे, हुर्काए, फलाए, फुलाए, समयक्रममा त्यो चिन्नै नसकिने भएर सयौं मिटर माटोमुनि धसिइसकेको छ । तर, भुइँचालो क्षेत्रमा परेको र चिहान निर्माण मूलधारको संस्कृति पनि नभएकाले, चीन र मध्य युरोपमा उधिनिएका जस्ता पुरातात्त्विक अवशेषहरूचाहिँ यो इलाकामा अहिलेसम्म भेटिएका छैनन् ।

त्यसमाथि पाइएका भनिएका पुरातात्त्विक वस्तुहरूको कार्बन डेटिङ गर्ने, डेन्ड्रोक्रनलजी र पाइलनलजीको परिशोधन गर्ने प्रयोगशाला क्षमता पनि विकसित छैन । सन् १९६० को दशकतिरै तुलनात्मक अध्ययनबाट बाहिरिइसकेको ग्रेवेयर पटरी र पटसर्डसमै आफ्नो अध्ययन सीमित गरिरहने समकालीन नेपाली विज्ञता आशलाग्दो पनि रहेन । कुनै दिन कथित किरात राज्यलाई यौधेयहरूले सत्ताच्युत गरेर लिच्छविहरूलाई बाटो बनाइदिए भन्ने मन्तव्य आएछ भने आश्चर्य हुनेछैन । फलस्वरूप, खास गरी मध्य युरोपमा भइरहेका पुरातात्त्विक उत्खनन र तिनमाथिको बहस नै विश्वसभ्यताको थालनीको विश्लेषण हो भन्ने धारणा धेरै नेपाली ‘विद्वान्’ हरूमा मैले पाएको छु । उनीहरूसँगको संवादमा केही पटक दुई–चार वाक्यमै म थाकेको छु ।

यसैले २०७५ फागुनदेखि मैले टिप्पणी लेख्न सुरु गरें; यो त्यसैको समष्टि रूप हो । यद्यपि नवपाषाण युग र पछिल्लो हिमयुगसम्म मात्र मेरो रुचि हो । न कि कथित सवा लाखदेखि ५ लाख वर्षअघिको सोनोरान संस्कृति भन्न म चाहन्छु । सीमारेखा कोरेको छु । तर, नेपालको पश्चिम सीमा महाकाली नदी र पूर्वी सीमा मेची नदीपारिका पर्वतीय शृंखलाहरूबारेको मेरो ज्ञान अत्यन्त सीमित छ । प्रसंगले त्यसलाई स्वयं समेटेको अवस्थामा बाहेक तीबारे खोजिपस्न समय जो थिएन । नाम्चा बरुवाभन्दा पनि सुदूर पश्चिमको आसाम, युनान र बर्माको सीमा जोडिएको कुनाबाट सुन्तला प्रजातिलाई मैले यहाँ अनायास जसरी टिपेको छु वा वर्तमान पाकिस्तानको केन्द्रीय भूभागबाट ड्रागनलाई जसरी उठाएको छु — त्यसका केही उदाहरण हुन् । शिवलेकका सबै सभ्यताजनक पाटाहरूमा पुग्न एउटा व्यक्तिबाट सम्भवै छैन । त्यसलाई एउटा संस्था नै चाहिन्छ । किनभने प्रशस्त कुराको कम्प्युटेसन चाहिन्छ र डेटिङ मेथडलजी आवश्यक पर्छ ।

केही मानिसको साझा सामाजिक चलन संस्कृति मात्र हो र त्यसमा दर्शनको फ्युजन भएपछि मात्रै त्यो सभ्यता हुन्छ — कहीँ मैले लेखिसकेको छु । तीन साना सभ्यता नेवार, खस र मैथिल नेपालमा छन् । तर, तिनको प्रवृत्ति जातीय छ । शिवलेक जातीयता, नश्लीयतारहित तर कुनै बेलाको पृथ्वी ९युरेसिया० नै ओगटेको सभ्यता हो । नेपालले गर्व गर्नुपर्ने विषय नै त्यही हो । त्यसका अघि विश्वका अन्य सभ्यता नेवार, खस र मैथिल सभ्यताबराबर हुन् । तर, विश्वका अरू मानिसलाई बरु सजिलै बुझाउन सकिएला, नेपाली ‘विद्वान्’ हरूलाई नै बुझाउन गाह्रो छ । पश्चिमा विश्वविद्यालयहरूबाट सिकिएको, रटिएको सेकेन्डरी डेटालाई निरन्तर रिसाइकल गर्ने र एउटा निर्क्योलमा पुग्ने र पुग्नुपर्छ भन्ने जिद्दी संस्कृति जे छ, त्यसले हामीलाई कहिल्यै चिन्तन र प्राप्तिका सीमाहरू नाघेर अपार घाँसे मैदानमा निर्बन्ध छार्तोस कस्न दिँदैन । म हलिस्टिक अप्रोचको अनुयायी होइन । र, मेरो जीवन त्यसका निम्ति हुँदै होइन । जुन वर्गका मानिसहरूका निम्ति हो, त्यो उनीहरूकै निम्ति होओस् । उनीहरूले उनीहरूकै स्कुलमा भर्ती हुनुपर्छ भनेर निरन्तर दिइरहेको दबाब मेरा निम्ति अस्वीकार्य थियो र छ । क्षितिजभित्र निरन्तर एक्लो छु, एकलासपथको यात्रा मेरो यो जुनीको नियति हो भनेर म स्विकार्छु ।

यसबीच एक सामान्य तीर्थयात्रीका रूपमा कर्नेल विश्वविद्यालय, प्रिन्सटन विश्वविद्यालय, पेन्सिलभानिया विश्वविद्यालय, एरिजोना विश्वविद्यालय, लाइब्रेरी अफ कंग्रेस, इमरी विश्वविद्यालय आदिका पुस्तकालयहरूमा निजी हैसियतमा पसेको छु र चुपचाप फर्केको छु । ज्ञान मेरा निम्ति छापिएका सामग्री मात्रै रहेन । यद्यपि लाइब्रेरी अफ कंग्रेसका माध्यमबाट मलाई सघाउन उत्साह देखाएका सहृदयी नेपालीहरूलाई पनि म धन्यवाद दिन्छु । क्लिष्ट लेखेको आरोप मलाई लाग्दै आएको छ । तर, क्लिष्टता विषयवस्तुले बनाउने हो । त्यसै गरी अहिले पनि सामान्य पाठकका लागि अति सरलबाट कुरा सुरु गर्नुपर्ने, तर झन्झटिलो र धेरै समय लाग्ने काम भएको हुँदा एकै पटक २,८०० वर्षअघिलाई समयसाँध बनाएर त्यसभन्दा पूर्वतिर मात्रै म लागेको छु । अर्थात्, त्यसभन्दा वरकै कुरा बुझ्नुपर्ने पाठकहरूबाट म क्षमा चाहन्छु । मूलधारको सभ्यताको केन्द्र कहाँ हो भन्नका लागि भोलिका हजारौं वर्ष छन् । अहिलेलाई मेरो आग्रह के मात्र हो भने, हामीले सबै कुरा अन्तबाट लिएका होइनौं । बरु अन्तका कैयौं कुरा हामीबाट निःसृत भएर गएका हुन् । विगत ३० वर्षमा नेपालको पूर्व र पश्चिम, पश्चिम र पूर्व, उत्तर र दक्षिण, दक्षिण र उत्तर, दक्षिण–पूर्वबाट उत्तर–पश्चिम र दक्षिण–पश्चिमबाट उत्तर–पूर्वमा मैले गरेका निर्बाध यात्राले मलाई अनगिन्ती सन्देश दिइरहेका छन् ।

ती कठिन दिनमा पूर्व–पश्चिम राजमार्गले पनि सघाएको कुरा जसरी बिर्सन मिल्दैन, त्यसै गरी महाभारत शृंखलाको बीचोबीचबाट बन्न जाने मध्य पहाडी लोकमार्ग र बलियै रूपमा स्थापित हुन जाने ग्रेट हिमालयन ट्रेलले हाम्रा सन्ततिहरूलाई युराल, आल्पस र इन्डिजकै पृष्ठभूमिमा अपार पर्वतीय ज्ञान आर्जनका निम्ति सघाउनेछन् भन्नेमा पनि शंका गर्न मिल्दैन । वराहमिहिर लगायतका प्राचीन इरानियनहरूले वहन गरेको संस्कृति र जेन्द आवेस्ताको वजनलाई उपेक्षा गर्न सकिन्न । यसर्थ इन्डो इरानियन संस्कृतिले त्यो युरोसियालाई ढाकेको हो भन्ने कुरा मेरो अवचेतनमा उठिरहन्छ, न कि मध्य युरोपियन वेहरमाट, तर के भने, त्यो सतलजका दुई किनारबाट उभिँदै गएको मोहनजोदारो हो, जसमा त्यसलाई नछुने शिवलेकको संस्कृतिले रूपान्तरण भएर आफ्नो मौलिक रूप गुमायो । म त्यही मौलिक रूप के हो भन्नेमा केन्द्रित छु । यो बतास हुरीमा परिणत भएछ भने यो सानो तर अनेक किसिमले अशक्त मुलुकले गर्ने भनेको कुनै विश्वविद्यालयमा ‘शिवलेक चेयर’ थप्ने र प्रज्ञामा ‘शिवलेक विभाग’ खडा गर्ने हो, जुन कुनै पनि समस्याको समाधान सूत्र नै होइन । झन्डालाई जुवा खेल्ने तासका रूपमा चिन्ने संस्कारबाट म कुनै कुराको आशाचाहिँ गर्दिनँ । राजनीतिक परिवर्तनका नाममा आफ्नो जराजुरी बिर्संदै र त्याग्दै जाने अनि पहिचानविहीन हुने होडमा होमिएका आजका प्रज्ञासम्पन्न नेपालीहरूबाट भयावह रूपमा निराश छु, तिनका तर्कहरूसँग असहमत छु भन्ने पनि लुकाउन चाहन्नँ ।

लगभग ६० हजार शब्दको लेखन र थप डेढदेखि अढाई लाख शब्दसम्मको लामो दौड सुरु गरेपछि मात्र मैले यति भनेको हुँ । मलाई लाग्छ, भविष्यले तपाईंहरूलाई निराश पार्नेछैन । यो लेख लिटफेस्ट–२०७६, पोखरामा प्रस्तुत मन्तव्यमा आधारित छ ।
सौरभले आजको कान्तिपुर दैनिकमा प्रकाशित गरेको आलेखको सम्पादित अंश ।



प्रतिक्रिया दिनुहोस्