Logo

इमान्दार र एकजुट भई बढ्न आइजीपी खनालको निर्देशन



काठमाडौं, २ पुस । नेपाल प्रहरी अस्पताल महाराजगंजमा नवनिर्मित रक्तसंचार केन्द्र र फिजियोथेरापी रिहाविलिटेशन युनिटको बुधबार आयोजित एक समारोहमा उद्‍घाटन गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नवनिर्मित रक्तसंचार केन्द्रको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संयुक्त रुपमा तथा फिजियोथेरापी रिहाविलिटेशन युनिटको प्रहरी महानिरीक्षक खनालले बुधबार उद्‍घाटन गरेका हुन् ।

सो अवसरमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रहरी महानिरीक्षक खनाललाई राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट सहयोग स्वरुप ४० लाख रुपैयाँ बराबरको चेक समेत हस्तान्तरण गरे । खनालले प्रहरी अस्पतालमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गर्दै प्रहरीले कर्तव्य निर्वाहको क्रममा आइपर्ने जोखिमलाई न्यूनीकरण गर्न नवनिर्मित केन्द्र र युनिटले सहयोग पुर्‍याउने बताए । प्रहरी अस्पतालले प्रदान गर्ने सेवाको गुणस्तरमा अझै वृद्धि गर्न प्राप्त साधनस्रोत थप उपयोगी हुने बताए ।

नेपाल प्रहरी अस्पतालले बाढी, पहिरो लगायतका विषम परिस्थितिमा समेत समुदायमा गएर प्रदान गर्दै आएको सेवा अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै खनालले उपचार सेवालाई थप प्रभावकारी बनाउन इमानदारिता, लगनशील र एकजुट भई अगाडि बढ्न नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । राष्ट्रिय वाणिज्य बैंकले एटिएम संचालन, समुदाय(प्रहरी साझेदारी कार्यक्रममा पुर्‍याएको सहयोग लगायतका कार्य उच्च प्रशंसनीय रहेको बताउँदै अन्य विविध कार्यक्रममा सहयोग र समन्वय हुने विश्वास व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल प्रहरीसँग थप अन्य क्षेत्रमा समेत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा।दुर्गा थापाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी नायव महानिरीक्षक डा।मिनराज पाठकले धन्यवाद ज्ञापन गरे।

रक्त संचार केन्द्र स्थापनाले अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक रगत चौबिसै घन्टा सुलभ आपुर्ति, ईच्छुक रक्तदान प्रक्रियामा सहजता र व्यवस्थापन हुने तथा अन्य अस्पतालका बिरामीहरुलाई समेत रगत उपलब्ध गराई सामाजिक सेवामा समेत नेपाल प्रहरी अस्पतालको भूमिका स्थापना हुने विश्वास गरिएको छ । आधुनिक चिकित्सा विधिको उपचारको माध्यमको रुपमा रहेको फिजियोथेरापी रिहाविलिटेशन युनिटको सेवाबाट घाइते, दीर्घरोग लागेका र शारीरिक रुपमा अशक्त बिरामीहरुले छिटो भन्दा छिटो शारीरिक लाभ प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, राष्ट्रिय वाणिज्य बैंकका पदाधिकारीहरु, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल रक्त संचार केन्द्रका प्रमुख लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्