मृत्युदण्डको फैसला प्रतिशोधपूर्ण


काठमाडौँ, ४ पुस । उपचारका क्रममा संयुक्त अरब इमरेट्सको दुबईमा रहेका मुसर्रफद्वारा बुधबार राति अबेर सार्वजनिक भिडियो सन्देशमा मुसर्रफले उक्त टिप्पणी गरेका हुन् । पाकिस्तानको राजधानीस्थित एक विषेश अदालतले गत मंगलबार मुसर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो ।

‘मेरा विरुद्धमा नियोजित रूपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा प्रस्ट रूपमा व्यक्तिगत प्रतिशोध देखिन्छ,’ भिडियो सन्देशमा मुसर्रफले भनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त भिडियो अस्पतालको शय्याबाटै सार्वजनिक गरिएको हो । मुसर्रफले निकै असहज अवस्थामा बोलिरहेको भिडियोमा देखिन्छ । मुसर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया थाल्ने बताएका छन् । त्यसका लागि आफ्नो कानुनी सल्लाहकारको टोलीले गृहकार्य गरिरहेको उनको भनाइ छ ।

अदालतको तीन सदस्यीय इजलासले मुसर्रफलाई पाकिस्तानी संविधानको धारा ६ अनुसार दोषी ठहर गरेको थियो । सन् २००७ को नोभेम्बर ३ मा संकटकाल घोषणासँगै संविधान निलम्बन गरेपछि मुसर्रफविरुद्ध देशद्रोहको मुद्दा लगाइएको थियो । सन् २०१३ को डिसेम्बरदेखि विचाराधीन मुद्दामा अदालतले मुसर्रफलाई सन् २०१४ को मार्च ३१ देखि अभियुक्त बनाएको थियो । पाकिस्तानी सेनाले मुसर्रफविरुद्ध विशेष अदालतले गरेको फैसलाप्रति आपत्ति जनाउँदै चार दशकसम्म देशको सेवा गरेका पूर्व सेनाप्रमुख तथा पूर्वराष्ट्रपति देशद्रोही नहुने दाबी गरेको थियो ।
कान्तिपुर दैनिकबाट