Logo

उपत्यकाको सडक खाल्डाखुल्डी पुर्ने काम तीव्र



काठमाडौँ, ६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘टाक्स फोर्स’ नै गठन गरेर उपत्यकाको सडकको खाल्डाखुल्डी पुर्ने कार्यलाई अगाडि बढाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६, ७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकका खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको थियो । दुई हप्ताको अवधिमा गौशालादेखि चाबहिलसम्म बाहेक चक्रपथको खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भइसकेको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए।
मङ्सिर १७ गतेदेखि उपत्यकाका सडकमा खाल्डाखुल्डी पुर्ने कार्य सुरु गरिएको थियो । चक्रपथको गौशालादेखि चाबहिलसम्मका सडकका अधिकांश भाग बि९ग्रिसकेको हुनाले सो खण्डको निर्माणका लागि ठेक्कापट्टाको काम सम्पन्न भइसकेको हुनाले सो खण्डमा खाल्डाखुल्डी पुरिने कार्य नगरिएको उनले बताए। विकास व्यवस्थापनविज्ञ थपलियाका अनुसार यस अवधिमा थापाथली–त्रिपुरेश्वर–जमल–शीतल निवास सडकखण्ड, जडीबुटी–पेप्सिकोला सडकखण्ड, शङ्खमूल–नयाँबानेश्वर सडकखण्ड, सिनामङ्ल–डिल्लीबजार सडकखण्ड, हाँडीगाउँ–मालीगाउँ सडकखण्ड, दरबारमार्ग–जय नेपाल सडकखण्ड, माइतीघर मण्डला–मीनभवन सडकखण्ड र टेकु–कुलेश्वर–बल्खु सडकखण्डमा खाल्डाखुल्डी पुरिने काम सम्पन्न भइसकेका छन् । सडकमा पानी चुहावट रोक्न खानेपानी संस्थान, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग यसबारे छलफल भइरहेको बताउँदै उनले चुहावट रोकिएपछि ती ठाउँहरूका खाल्डा पुरिने जानकारी दिए।

त्यसैगरी सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत रहेका सडकमध्ये पानी चुहावटबाहेक ७० प्रतिशतमा खाल्डाखुल्डी पुरिने कार्य सम्पन्न भइसकेको जानकारी सडक डिभिजन कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले दिए । पुस महिनाभित्र बाँकी काम सम्पन्न गरिने उनले बताए। काठमाडौँ जिल्लामा रहेका जम्मा एक हजार छ सय किलोमिटर सडकमध्ये मात्र चार सय किलोमिटर सडक डिभिजन कार्यालय, काठमाडौँअन्तर्गत पर्दछ । बाँकी काठमाडौँ महानगरपालिकालगायत विभिन्न निकायअन्तर्गत पर्ने गर्दछ । त्यसैगरी भक्तपुर जिल्लामा रहेका जम्मा २० वटा सडकमध्ये १३ वटा खाल्डाखुल्डीमुक्त भइसकेको जानकारी सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुख बेलबहादुर भुजेलले दिए । खाल्डाखुल्डी पुरिने काम सुरु भएको दुई हप्तामा १६८ किलोमिटरमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भइसकेको जानकारी डिभिजन प्रमुख भुजेलले दिए। सडक डिभिजन कार्यालय, ललितपुरका प्रमुख अमृतमणि अर्यालले ललितपुरका सडकमा खाल्डाखुल्डीको समस्या खासै नरहेको बताउँदै मङ्सिरको १७ गतेदेखियता एक किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्ने काम सम्पन्न भएको जानकारी दिए। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले उपत्यकामा दैनिक दुई सय वर्गमिटर खाल्डाखुल्डी पुर्ने काम भइरहेको जानकारी दिए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्