काठमाडौँ, ९ पुस । पछिल्लो अध्ययनले लाओसमा पाटे बाघ लोप भएको देखाएको छ । कम्बोडिया र म्यानमारमा यसअघि नै बाघ लोप भएको थियो । यससँगै बाघ पाइने देशको संख्या १३ बाट घटेर १० मा सीमित भएको छ । बाघ पाइने देशको संख्या औपचारिक रूपमा हेरफेर भने गरिएको छैन । कम्बोडिया र म्यानमारले प्राकृतिक बासस्थानमा बाघ फर्काउन संरक्षणका कार्यक्रम जारी राखेको जनाएका छन् ।
नेपालसहित चीन, बंगलादेश, थाइल्यान्ड, भियतनाम, भारत, भुटान, इन्डोनेसिया, मलेसिया र रुस बाघ पाइने देश हुन् । सन् २०१० मा बाघ पाइने देशका कार्यकारी प्रमुखहरूको रुसको सेन्ट पिटर्सबर्गमा भएको सम्मेलनले सन् २०२२ सम्म सबै देशमा संख्या दोब्बर गर्ने महत्त्वाकांक्षी निर्णय गरेको थियो । त्यसअनुसार सबै मुलुकले संरक्षण कार्यक्रम अघि बढाएका छन् । विश्व बाघ पुनरुत्थान कार्यक्रम ९ग्लोबल टाइगर रिकोभरी प्रोग्राम० ले सन् २०१० मा बाघको आधिकारिक संख्या औसत ३ हजार ६ सय ४३ ९कम्तीमा ३ हजार २ सय ३० र बढीमा ४ हजार ९५० मानेको छ । १३ देशले सन् २०२२ सम्म त्यही संख्यालाई दोब्बर बनाउने संकल्प गरेका हुन् । नेपालसहित केही देश भने संख्या दोब्बर पार्ने लक्ष्य नजिक पुगिसकेका छन् । लाओसमा ५ वर्ष गरिएको क्यामेरा सर्वेक्षणका क्रममा बाघको अवशेष फेला नपरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । अवैध चोरी सिकारीकै कारण बाघ लोप भएको हुन सक्ने उनीहरूले बताएका छन् । अनुसन्धानको पहिलो वर्षमा भने लाओसका संरक्षण क्षेत्रका केही स्थानमा बाघका तस्बिर स्वचालित क्यामराले कैद गरेका थिए । त्यसपछि क्यामराले बाघका तस्बिर कैद गर्न नसकेको अनुसन्धानकर्ताहरूले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
वन्यजन्तु अनुसन्धानमा सक्रिय जीव विज्ञ एक्चोसान रासफोनले भनेका छन्, ‘अवैध चोरी सिकारका कारण लाओसमा बाघको संख्या शून्य हुन पुगेको छ । पासोहरू बनाउन जति सजिलो छ, बाघको संख्या बढाउन त्योभन्दा कैयौं गुणा गाह्रो छ ।’ सन् २०१६ सम्म भने त्यहाँको सरकारले आफूसँग २ वटा वयस्क बाघ भएको बताउने गरेको थियो । सन् २०१० मा काठमाडौंमा भएको बाघ पाइने १३ देशको सम्मेलनमा लाओसले १७ बाघ रहेको बताएको थियो । प्रतिबद्धताअनुुसार सन् २०२२ सम्म लाओसले बाघको संख्या ३५ पुर्याउनुपथ्र्यो । करिब १० वर्षमा बाघ गुमाएको म्यानमारले सन् २०२२ सम्म ८६ र कम्बोडियाले ५० हाराहारी बाघ पुर्याउनुपर्थ्यो । अनुसन्धानकर्ताहरूले लाओसबाट बाघ गुमेकामा दुस्खमनाउ गर्दै भनेका छन्, ‘यो एउटा त्रासदी हो ।’ जीव विज्ञ रासफोनले ‘प्रजातिहरूको संरक्षण गर्न सीमित संसाधनहरूमार्फत सकेजति पहल गरे पनि बाघका अंगहरूको अन्तर्राष्ट्रियस्तरमा हुने गैरकानुनी व्यापारका कारण लाओस बाघविहीन बन्न पुगेको’ उल्लेख गरेका छन् ।
नेपाल, भारत, भुटान र रुसमा भने बाघको संख्या बढिरहेको छ । यी देशमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर हुने निश्चित जस्तै छ । सन् २०१७ को गणनाअनुसार नेपालमा वयस्क बाघको संख्या २ सय ३६ पुगेको छ भने सन् २०१८ को गणनाअनुसार भारतमा बाघको संख्या २ हजार ९ सय ६७ पुगेको छ । भियतनाम र चीनमा भने बाघको संख्या घट्दो क्रममा छ । चीनमा करिब ७ र भियतनाममा ५ बाघ भएको अनुमान छ । संकल्पअनुसार भियतनाम र चीनले सन् २०२२ सम्म बाघको संख्या ५० हाराहारी बनाउनुपर्ने थियो ।
बाघको क्षेत्र संकुचित
विश्वभर नै बासस्थान विनाश तथा खण्डीकरण हुनु र आहार घट्नुलाई यो जीव संरक्षणका प्रमुख चुनौती मानिएको छ । आईयूसीएनको नयाँ तथ्यांकले पनि सन् २०१० को तुलनामा बाघ पाइने क्षेत्र घटेको देखाएको छ । एकातिर वन जंगल नासिँदै छ भने अर्कोतर्फ चोरी सिकार र बढ्दो अवैध व्यापारले कतिपय क्षेत्रबाट बाघ लोप भएका छन् । बाघ सानो क्षेत्रमा खुम्चिएर बस्नुपर्ने अवस्था आउनु संरक्षणका दृष्टिले निकै घातक हुने विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार बाघ आफ्नो क्षेत्र निर्धारण गरेर बस्ने जीव हो र यसले आफ्नो क्षेत्रमा अर्को बाघको उपस्थिति स्विकार्दैन।
कान्तिपुर दैनिकबाट