काठमाडौँ, ९ पुस । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडकबाट उद्धार गरी बालाजुको स्क्रिनिङ सेन्टरमा राखिएकाहरू उकुसमुकुसमा छन् । महानगरले दिनभरि काम गरी साँझ मदिरा सेवन गरी सडकमै सुत्ने, दिनभरि माग्ने, बेसहारालगायतलाई उद्धार गरी सेन्टरमा राख्ने गरेको हो । त्यहाँ धूम्रपान र मध्यपानका केही अम्मलीहरू छट्पाइरहेका छन् भने केही आफूहरूलाई बिनाकारण सेन्टरमा राखेकोमा उकुसमुकुसमा छन् ।
बालाजु बाइसधाराको स्विमिङ पुलभित्रको घरमा पुग्ने जोकोहीलाई त्यहाँ रहेका महिला र पुरुषले इसारा गर्दै सोध्छन्, ‘चुरोट वा खैनी छ’ त्यहाँ सडकबाट उद्धार गरिएका महिला र पुरुष गरी एक सय २० जना छन् । रिपोर्टिङ गर्न आइतबार दिउँसो पुग्दा गेटमै एक ज्येष्ठ नागरिक आइपुगे । भित्रै पुगेपछि त कोही बच्चा च्यापेर आउपुगे । कोही लौरो टेक्दै नजिकै आए । उनीहरूको आश ‘चुरोट छ कि’ भन्ने थियो । उनीहरूले आश गरेजस्तो मसँग न चुरोटै थियो न त खैनी । उनीहरूमध्ये केहीको गुनासो थियो, ‘घर पठाएन, केहीले मदिरा सेवन गर्न नपाएको पनि थियो ।’ तीमध्येका सुस्मिता अधिकारी पनि हुन् । ‘सडकमा सुतेको दिन थोरै खैनी थियो । त्यो पनि समाएकै दिन सकिहाल्यो,’ १५ महिने किशोरको आमा सुस्मिताले भनिन्, ‘ओछ्यानमा सुते पनि खैनी खान नपाएपछि बौलाजस्तै भएकी छु ।’ बिहान अरूको घरमा लुगा धुने र राति सडकमा छोरालाई काखी च्यापेर सुत्ने उनलाई बौद्धबाट उद्धार गरिएको हो ।
चिसोमा सुत्नेलाई बाक्लो डस्ना र सिरकमा सुताए पनि सन्तुष्ट छैनन् । काम गर्न नपाउँदा, मद्यपान र धूम्रपान गर्न नपाएपछि उनीहरू बिरक्तिएका हुन् । सयभन्दा बढीको समूह भए पनि एक अर्कोसँग खासै बोल्दैनन् । एक्लाएक्लै हुन्छन् । उद्धार टोलीले काम गरेर फर्कंदै गरेको मजदुरलाई समेत ल्याएको आक्रोश पनि उनीहरूले पोख्ने गरेका छन् । कालिमाटीको सडकमा सुतिरहेका विक्रम आलेलाई महानगरको टोलीले चार दिनअघि उद्धार गर्यो । उनलाई पनि स्क्रिनिङ सेन्टरमा राखिएको छ ।
कान्तिपुर दैनिकबाट