Logo

सरकारलाई सांसद वलीको प्रश्न : कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ ?



काठमाडौं, २२ माघ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चीनको वुहान प्रान्तबाट फैलिएको नोभेल कोरोना भाइरस विश्वव्यापी प्रभाव पारिरहेको भन्दै प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल वलीले विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको नेपालमा कस्तो अवस्था छ ? भनेर प्रश्न गरिन् । चीनको प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई उद्धार गरेर फिर्ता ल्याउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उनले भनिन्,“चीनबाट नेपाली ल्याइँदै छ भने सरकारले उनीहरुलाई कहाँ र कसरी राख्ने व्यवस्था गरेको छ ?”

नेकपाकै कमलाकुमारी ओलीले कोरोना भाइसरको सङ्क्रमण बढिरहेको अवस्थामा वुहानमा रहेको नेपाली विद्यार्थी ठूलो तनावमा रहेको भन्दै तत्काल उच्चस्तरीय पहल गरी उद्धार गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

“कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपाली विद्यार्थी निकै आत्तिएको अवस्था छ”, उनले भनिन्, “उनीहरु अलपत्र परेका छन्, तत्काल प्रभावित क्षेत्रमा फसेका नेपालीको तथ्याङ्क निकालेर उद्धार गरोस् ।”

यता सरकारले भने प्रभावित क्षेत्रमा रहेका नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिरहेको छ । सरकारले स्वास्थ्य मन्त्रालय मातहत रहने गरी ३०० श्ययासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि छुट्टै अस्पताल बनाउने तयारीमा जुटेको छ । file photo



प्रतिक्रिया दिनुहोस्