Logo

चिनबाट विद्यार्थी ल्याएर राख्नका लागि भक्तपुरको खरिपाटीमा तयारी तीब्र



माघ २९, काठमाण्डौ । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी तीब्र पारिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरको खरिपाटीमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायहरुसँग समन्वय गरि कार्य गरिरहेको जनाएको हो ।

चीनको हुवेई प्रान्तमा अध्ययन तथा विभिन्न काममा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने सन्दर्भमा तोकेका क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कताका साथ स्वास्थ्य मन्त्रालय, गृह, रक्षा, परराष्ट, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको साथै नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको समन्वयमा काम भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर बासुदेव पाण्डेले बताए ।

चीनबाट फर्काइने नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित बिद्युत प्राधिकरण तालिम केन्द्रका भवनहरु खाली गरि क्वारेन्टाइनको उपयोगका लागि तयार भइरहेको निर्देशक पाण्डेको भनाई छ ।

यस्तै चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन जाने प्राविधिक टोली, प्लेनका पाइलट, को–पाइलट, एयर होस्टेजलगायतलाई भने नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिने भएको छ । क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठाहरु, प्रयोग गरिएका सामानहरुको उचित संक्रमण रोकथाम व्यवस्था गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल डा. फडिन्द्र प्रसाद बरालले जानकारी दिए ।

क्वारेन्टाइनमा रहेका बिद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शंका हुनासाथ उपचारका लागि अस्पतालहरुमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्