Logo

नेपालीलाई ल्याउन शनिबार चीन जादै निगमको वाइडबडी



काठमाडौं,फागुन । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको वाइडबडी ए–३३० विमान पर्सी शनिबार चीन पठाउने तयारी गरेको छ।

चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई विमानमार्फत ल्याउने सम्बन्धमा गत आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १ सय ८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ जाने भएको छ ।

निगमको जहाज पठाउने निर्णय गरेसँगै निगमले वुहानका लागि यो समय तालिका सार्वजनिक गरेको हो। शनिबार दिउँसो पौने ३ बजे निगमको वाइडवडी जहाज काठमाडौंबाट वुहान जाने भएको हो । चीनबाट फर्केको जहाज राति सवा २ बजे त्रिभुुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। उक्त जहाजमा नेपाल वायुसेवा निगमका तीन जना पाइलट, ६ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना प्राविधिक, १ जना फ्लाइट डिस्प्याचर,१ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहने छन्।

नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सकले बुधबार निगमको केन्द्रीय कार्यालयमा चीन जाने टोलीसहित निगमको विमानस्थलमा रहेका कर्मचारीहरुलाई तालिमसमेत दिएको छ भने विमानस्थलमा कार्यरत कर्मचारीलाई आज तालिम दिँइदै छ। उक्त उडानपछि जहाज र चालकदल लगायतका निगमका कर्मचारीलाई कति घन्टा क्वारेन्टाइनमा राख्‍नेबारे सरकारले कुनै निर्णय गरेको छैन।

वुहान जाने वाइडबडी जहाजको ग्राउन्ड ह्याण्डलिंङ गर्न परराष्ट्र मन्त्रालयले त्यहाँको ग्राउन्ड एक्सप्रेस लिमिटेडलाई तोकेको जनाइएको छ।जहाजको ग्राउन्ड ह्याण्डलिंङको रकम भने खुलाइएको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्