मुकुन्द कालिकोटे, काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रियसभा गृहमा आइतबार भाषण पूरा गरी मञ्चमा फर्कने तरखर गर्दै थिए । भरतमोहन स्मृति प्रतिष्ठानको कार्यक्रममा उनी पोडियमबाट मञ्चतर्फ बढ्नै लाग्दा अचानक जुत्ता प्रहार भयो । जुत्ता पोडियममा लागेर ड्याङ्ग आवाज आयो ।
तर, ताकेर हानेपनि जुत्ताले प्रचण्डलाई लागेन । होहल्ला हुनथालेपछि प्रचण्डले के भयो ? भनी सोधे । उनले पछि मात्र आफूमाथि जुत्ता प्रहार भएको चाल पाएका थिए ।
हलमा होहल्ला मच्चियो । दर्शकदिर्घामा रहेका युवकले जुत्ता प्रहार गरेका थिए । लगत्तै सुरक्षाकर्मीले युवकलाई नियन्त्रणमा लिए । ती युवक थिए जुम्लाका रतन तिरुवा । २२ वर्षीय तिरुवा कम्युनिष्ट विचारधारामा आस्था राख्ने भएको पत्ता लागेको छ । उनी पूर्व लडाकु हुन् ।
भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृहमा पुगेका थिए ।