Logo

प्रधानमन्त्रीलाई नयाँ जीवन दिने समिक्षा नर्सलाई हात हल्लाउँदै डिस्चार्ज भईन् (फोटोफिचर)



काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उनकी भाञ्जी समीक्षा संग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्किएकी छिन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारी छ । समिक्षा अस्पतालबाट बाहिरिँदा अस्पतालमा कार्यरत नर्सहरुलाई विदाई हात हल्लाउँदै निस्किएको फोटोमा देख्न सकिन्छ । उनी ह्विल चेयरमा अस्पताल बाहिर निस्किएको देखिन्छ । उनी डिस्चार्ज हुँदै गर्दा यसअघि पहिलो पटक मिर्गौला दान गरेकी अन्जान घिमिरेपनि समिक्षाकै साथमा देखिएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समिक्षा डिस्चार्ज हुँदाका तस्विर आफ्नो फेशबुकमा पोष्ट गर्दै लेखेका छन्,”बधाई समीक्षा संग्रौलाजी, प्रधानमन्त्रीज्यूलाई नयाँ जीवन दिएर महानताको दृष्टान्त बन्नुभएको छ । १० दिन अस्पताल बसेर पूर्ण स्वस्थ भई आज डिस्चार्ज हुनुभएकोमा विशेष बधाई र स्वस्थ जीवनको शुभकामना ।”

उनलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिएपनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उनको स्वास्थ्यबारे जानकारी लिएर उनी घर फर्किएकी थिईन् । दाह्री आफैँ काटे ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले आज आफैँ आफ्नो दाह्री काटेको जनाउँदै उनको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको उल्लेख गरे । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्