रिपोर्टर्स नेपाल, १६ चैत्र । चीनबाट एक अर्ब नेपाली मूल्यभन्दा बढीको स्वास्थ्य सामाग्री लिएर नेपाल वायु सेवा निगमको विमान त्रिभुवन विमानस्थलमा उत्रिनुअघि नै कमिशनको ठूलो आशंकाबारे चर्चा चलिसकेको थियो । अन्तर्राष्ट्रिय बजारमा चलेको मूल्यभन्दा दोब्बर देखि सात गुना बढी मूल्य तिरेर सामाग्री ल्याइएको यस सम्बन्धी जानकारहरुले खुलाइसकेका छन् ।
चीनको ग्वाङजाओमा बस्दै आएका एकजना नेपाली व्यापारी नविन विकले सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खुल्लापत्र लेख्दै करोडौंको अनियमितता भएको आरोप लगाएका छन् । उनले चीनमा पर्ने मूल्य र नेपाल सरकारले खरिद गरेको मूल्यको फरक उल्लेख गर्दा मुख्य सामाग्रीको ४४ लाख ४० हजार डलर मूल्य फरक आएको देखिन्छ । यो ५५ करोड नेपाली रुपैयाँ हो । एक अर्बको सामान खरिद गर्दा आधाभन्दा बढी अनियमितता भएको उनको आरोप छ । हरेक सामाग्रीमा करोडौंको अनियमितता भएको तथ्यांकनै प्रस्तुत गरेका छन् । उनले लेखेका छन्, ‘कोरोना टेष्टको पिसिआर किटमा १४ करोड, चश्मामा १५ करोड, गाउनमा ११ करोड गरी केही सामानको मात्र आँकडा छुट्याएको छु, बाँकी त कति छन् कति !’
पूर्व सचिव भीम प्रसाद उपाध्यायले पनि अन्तर्राष्ट्रिय मूल्य र सरकारले खरिद गरेको मूल्यमा फरक विवरण सार्वजनिक गरेका छन् । उनले पनि सामाजिक सञ्जालमा यसबारे प्रकाश पार्दै अनियमितताको आरोप लगाएका छन् । यससम्बन्धी जानकार र पूर्व प्रशासकले समेत योजनावद्ध तरिकाले अनियमितताको खुलासा गरेपछि तरंग आएको छ । देशमा कोरोना भाइरसको रोकथामका लागि लकडाउन भइरहेको र स्वास्थ्योपचारका लागि अत्यावश्यक सामाग्री आकस्मिक रुपमा ल्याउनुपरेको अवस्थामा ठूलो अनियमितताको आशंका हुनुले जिम्मेवार अधिकारीहरु विवादमा परेका छन् ।
कोरोना लागे नलागेको परीक्षण गर्ने पीसीआर विधिको लागि आवश्यक सामाग्री ५० हजार टेष्ट गर्न करिब ४५ करोड डलर खर्च गरिएको भन्दै यसबारे जानकार सौरभ भट्टराईले लेखेका छन्, ‘एकपटक गर्ने पीसीआर टेष्टको खर्च बढीमा १० डलर पनि पर्न आउँदैन तर यहाँ एउटा टेष्टको १० डलरमा अर्थात् ९ गुना बढीमा सम्झौता भएको रहेछ । उनले लेखेका छन्, भुकम्पपछि विपत्तिमा कमाउन पल्किनेहरु फेरि महामारीमा सल्बलाउन थाले ।’
पूर्व सचिव उपाध्यायले चीनको मूल्य र नेपालमा पर्ने मूल्यको निकै फरक आएको तुलना गर्न भन्दै लेखेका छन्, ‘चीनले नेपाललाई अनुदानमा दिएको मेडिकल सामानको रेट, नेपालले ठेकेदारबाट चीनबाट ल्याएको सामानको मूल्य सँगसँगै आज जहाजमा नेपाल आएको छ । आफै मूल्य तुलना गर्नुहोस् ।’
उपाध्यायका अनुसार अरुले सस्तोमा उही सामान उपलब्ध गराउन सक्नछन् भने उनीहरुसँग पनि खरिद गर्न सरकारलाई कसैले रोक्दैन । सरकारले किनेको मेडिकल सामानको मूल्य विश्व बजारमा प्रतिष्पर्धी नै हो भनेर जनतालाई आश्वस्त गराउनुको विकल्प छैन ।
को को छन् संलग्न
आकस्मिक रुपमा स्वास्थ्य सामाग्रीको ठेक्का ओमनिटेक र ओबीसीआई कम्पनिहरुले पाएका थिए । ओमनिटेकका विशाल पण्डित हुन् । ओबीसीआईका तुलहरि सिंह हुन् । उनीहरुको निकटता वर्तमान सरकार नजिक व्यवसायी र प्रशासकहरुसँग रहेको बुझिएको छ ।
ठेक्काका मुख्य योजनाकार युवराज शर्मा हुन् । दृश्यमा उनी ह्वाइट हाउस कलेजका सञ्चालक हुन् । अदृश्यमा उनी अहिलेको सरकारमा निकै प्रभाव राख्न सक्छन् । उनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला देखि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अलावा प्रधानमन्त्री केपी शर्मा ओली नजिकका केही मानिसहरुलाई पनि व्यवस्थापन गरेको स्रोतले बतायो । उनकै योजना अनुसार रवीन्द्र श्रेष्ठ, विशाल पण्डितका अलावा तुलहरि सिंह र सुमन सिंहलाई मिलाएर सामाग्री ल्याउने जिम्मा दिने पहिल्यै नै तय भएको थियो । रवीन्द्र ओमनिटेकसँग सम्बन्धित हुन् । तुलहरि सिंहको ओबीसीआई कम्पनि छ । यसले यसैगरी सामान खरिदमा मध्यस्थकर्ताको शैलीमा भूमिका खेल्दै आएको छ ।
विशाल पण्डित हस्पिटेकसँग सम्बन्धित छन् । उनले आफ्नो कम्पनि विवादमा परेपछि ओम्निटेक र ओबीसीआईसँग भित्री साझेदारी गरेका हुन् । सबैलाई मिलेर आउने देखि माथिल्लो तहसम्म व्यवस्थापन गर्ने जिम्मा युवराजले लिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
तुलहरि सिंह र सुमनले नेपाल दुरसञ्चार प्राधिकरणमा पनि स्कुल ल्याबको ठेक्काको काम गरेको खुलेको छ । उनीसँग कमिशनको अडियोकाण्डमा राजीनामा दिन वाध्य भएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटासँग नजिक छन् । बाँस्कोटासँगको निकटाबाट उनीहरुले दूरसञ्चारको ठेक्कापट्टा पाउँदै आएका थिए । अहिले उनीहरुको पनि चीनबाट मेडिकल सामाग्री ल्याउन संलग्नता देखिनुलाई अर्थपूर्ण मानिएको छ ।
पूर्व सचिव भीम प्रसाद उपाध्यायले विशाल पण्डितको फर्मसँग योजनावद्ध तरिकाले सम्झौता गरेको विषय खुलाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, विशालबाहेक सबैको दररेट अस्वीकृत गरी विशालको कम्पनिसँग राति नै सम्झौता गरियो । अरु सप्लायर्सले पण्डितको कम्पनिले कम मूल्यमा दिन्छौं भनेर दररेट दिँदा पनि कुरै सुनिएन र विशाल पण्डितको फर्मसँग सम्झौता गरियो ।
‘उनले सामान पन पहिल्यै ठिक्क, जहाज पनि पहिल्यै ठिक्क, उत्पादक पनि सामान हातमा लिएर ठिक्क र सप्लायर्स पनि ठिक्क र दररेट पनि ठिक्क पारेर विगतमा पनि नभएको र भविष्यमा पनि नहुनेगरी सरकारी ठेक्का दर्ता भएको, सम्झौता भएको र सप्लाई पनि २४ घन्टामै’ भएको लेखेका छन् ।
पूर्व सचिव उपाध्याय स्वास्थ्य सामाग्री ल्याउने निर्णय गर्ने देखि ठेक्का तोक्ने सरकारले सबै जिम्मेवारी लिनुपर्ने बताउँछन् । यसमा को को व्यक्ति लागे भन्दा पनि सरकारको आधिकारिक निकायका पदाधिकारीको जिम्मेवार हुने बताए । बढी मूल्य परेको हो भने त्यो कटाएर जति मूल्य हो त्यतिमात्र रकम भुक्तानी गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘संकटको घडीमा राष्ट्रिय हितका लागि परल मूल्यमा विना नाफा सामान ल्याउनुपर्नेमा सात सय प्रतिशतसम्म बढी मूल्यमा ल्याइएकाले सामानको वास्तविक मूल्यको मात्र रकम भुक्तानी गर्नुपर्छ ।’