Logo

कम गुणस्तर भन्दै युरोपेली देशहरुले अस्वीकार गरेको चीनमा बनेको स्वास्थ्य सामाग्री नेपालले किन्यो



काठमाडौं, १७ चैत्र । नेपालले आइतबार विहानै चीनमा बनेको स्वास्थ्य सामाग्री ल्याएको छ । तीमध्ये केही चीनले अनुदान दिएको थियो भने बाँकी खरिद गरी ल्याइएको थियो । एक लटको सामान आइसकेको र बाँकी सामान आउन बाँकी छ ।

सामाग्री खरिदको त टुंगो लगाइसकिएको छ । तर, कोरोना भाइरस फैलन नदिनका लागि प्रयोग हुने चीनमा बनेको स्वास्थ्य सामाग्रीको गुणस्तरबारे प्रश्न उठेको छ । युरोपका केही मुलुकहरुले गुणस्तरमाथि प्रश्न उठाउँदै आयात रोकिसकेका छन् ।

बीबीसीले स्पेन, टर्की र नेदरल्यान्डका अधिकारीहरुको जानकारी भन्दै टेष्ट गर्ने किट र मेडिकल मास्क कम गुणस्तरको भएको उल्लेख गरेको छ । शनिबार मात्र नेदरल्यान्डको स्वास्थ्य मन्त्रालयले छ लाख प्रति अनुहारसमेत छोप्ने मास्क फिर्ता लिन भनेको छ । २१ मार्चमा चिनियाँ उत्पादकबाट स्पेन पुगेको ती सामाग्रीमध्ये कतिपय वितरण भई प्रयोगमा समेत आइसकेको छ । मास्कको फिल्टरले काम नगरेको नेदरल्यान्डको अधिकारीले बताएको बीबीसीले उल्लेख गरेको छ । कुनैपनि त्यस्ता सामाग्री प्रयोग नगर्ने र ल्याउन बाँकी पनि नल्याउने निर्णय गरिएको नेदरल्यान्डको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिबाट भनेको छ ।

स्पेनले खरिद गरेको किटमा पनि समस्या आएको उल्लेख छ । स्पेनले झण्डै ६० हजार किटले कोरोना भाइरसको टेष्ट गलत दिने निष्कर्ष निकालेको छ । चीनमा रहेको स्पेनिस एम्बेसीले किट निर्माता कम्पनि सेन्जेन बायोइजि बायोटेक्नोलोजीसँग चीनको आधिकारिक मेडिकल प्राधिकारबाट सामान विक्रीको लाइसेन्स नभएको उल्लेख गरेको छ ।

टर्कीले पनि टेष्ट किटहरुमा समस्या रहेको उल्लेख गरेको छ । यीनीहरु पर्याप्त मात्रामा सही परीक्षण गर्न नसक्ने रहेको भनिएको छ ।

यसरी युरोपेली देशहरुले गुणस्तरमाथि प्रश्न उठाएका चीनमा बनेका कोरोना भाइरसको संक्रमणसँग जुध्न प्रयोग हुने स्वास्थ्य सामाग्री नेपालले खरिद गरेर ल्याउन थालेको छ । ती सामाग्रीहरुको विश्वसनीयतामाथि विश्वभर प्रश्न उठ्दै जाँदा नेपालले खरिद गरेर ल्याउँदा विगतमा चीनबाट नेपाल वायु सेवा निगमले खरिद गरेर ल्याएको विमान जस्तै उल्टै समस्या ल्याउने त होइन भनी प्रश्न उठ्न थालेको छ ।-Photo Source: RSS



प्रतिक्रिया दिनुहोस्