काठमाडौं, १८ चैत्र । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा निकै सक्रिय छन् । उनले कोरोना भाइरसको जोखिमसँग सिंगो देश एकजुट भएकाले सबैको साथ र सहयोगमा जोड दिएका छन् । उनले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदमा कुनै अनियमितता नभएको दाबी समेत गरेका छन् । डा. देवकोटासँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
चीनबाट ल्याएका स्वास्थ्य सामाग्रीहरु सबै प्रदेशमा पुग्यो ?
अस्ति चीनबाट सामानहरु आएको हो । त्यो सबै प्रदेशमा गएको अवस्था छ ।
सबै प्रदेशमा पुगिसक्यो ?
केही प्रदेशमा हामीले हिजो प्लेनबाट पु¥यौं । धनगढी, सूर्खेत, विराटनगरलगायतका प्रदेशमा गाडीबाट हिजो हिंडेको आज पुग्यो ।
त्यसोभए अब उपचारको लागि कुनै सामाग्री अभाव छैन ?
अहिलेसम्म दुईवटा समस्या थियो । एउटा स्वास्थ्यकर्मीहरुले लगाउने व्यक्तिगत सुरक्षा सामाग्री त्यसमा पीपीईको सेटहरु, ९५–माक्स ग्लोबसलगायत सुरक्षा कवजहरु कम्तिमा हजारको दरले सबै प्रदेशमा पठाइसकेका छौं । यो समस्या हल भयो । अर्को भनेको प्रयोगशालालाई चाहिने सामाग्रीहरु थियो । त्यसको लागि हिजो परीक्षण भइसक्यो सबैले काम गर्छ । त्यो चाहीं टेम्प्रेचर मेन्टेन गरेर पठाउनुपर्ने भएकाले आज त्यो पनि जाँदैछ ।
डक्टरहरुलाई जे–जे सामान चाहिन्छ त्यो पठाइसक्नुभएको अब धनगढीमा पनि उपचार हुन्छ ?
हो, अब सबैले नडराइकन एकजुट भएर काम गर्दा हुन्छ । हिजोसम्म स्वास्थ्यकर्मी साथीहरुलाई बिना हतियार कसरी युद्धमा जाने भन्ने थियो । त्यो सही कुरा पनि हो । अब सामान आइसकेपछि सबैको परीक्षण गरेर उनीहरुलाई आइसुलेसनमा राखेर नमुना परीक्षणको लागि पठाउनुपर्छ । अब हाम्रो देशमा छ कि छैन द्रुत गति हेरेर नमुना परीक्षण गर्ने दायरालाई बढाउने कार्यक्रम छ ।
बुटवलमा कोरोना अस्पतालमा पशु जस्तो व्यवहार भएर मान्छेको ज्यान गयो, तपाईहरु के हेरेर बस्नुभएको छ ?
केही अस्पतालहरुबाट त्यस्ता कुराहरु आएका छन् । त्यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । नमुना परीक्षणमा सबै नेगेटिभ आएको छ । अबदेखि त्यस्तोखाले व्यवहार हुनुहुँदैन ।
उचार नपाएर व्यक्तिको ज्यान गइसक्यो नि ?
उपचार नै नपाएर ज्यान गएको भन्ने प्रमाणित त भएको छैन ।
मसँग त्यसको प्रमाण छ म त्यसै बोल्दिँन नि ?
त्यो के भएको हो । त्यसलाई हामी हेर्छौ । त्यसको हरेक केसको के भएको हो, के गर्नुपथ्र्यो त्यो किन भएन भनेर हामी हेर्छौ ।
उपचार नगर्ने डाक्टर र अस्पताल दुवैलाई कारबाही गर्न सक्नुहुन्छ ? काठमाडौंमा धेरै अस्पतालहरुले उपचार गरेका छैनन्, तपाईंहरु मुखदर्शक हुनुहुन्छ नि ? अहिलेको अवस्थामा जनताको समर्थन छ, तपाईहरु चाहिं मन्त्रालयमा के गरेर बस्नुहुन्छ ?
यसको बारेमा गत दुई दिनदेखि केही उदाहरणहरु आएका छन् । त्यसबाट हामी एकदमै गम्भीर भएका छौं । यस्तालाई कारबाही गरेरै छाड्छौं ।
तपाईंहरुका कुरा निजी क्षेत्रका अस्पताल र डक्टरहरुले किन मानेनन् भन्नुस् न ?
हामीलाई लाग्छ । उहाँहरुले मान्नुहुन्छ ।
यदि मानेनन् भने उनीहरुको दर्ता खारेज गरेर कारबाही गर्न सक्नुहुन्छ ?
उनीहरुलाई कारबाही गर्ने कुरा आउँछ । किन भने यसमा सबैले मिलेर मात्रै समाधान हुने हो । चिकित्सकहरुले बिरामी नहेर लापरबाही किन गरेको हो त्यसलाई हामी हेर्छौ । त्यस्तो नियत देखिएमा हामी उनीहरुलाई कारबाही गछौं ।
स्वास्थ्य सामाग्री खरिदमा तपाईंंको मन्त्रालयले किन विवादमा पर्यो ? किन कमिसनेको मोहमा डाक्टरदेखि तपाईहरु सबै लाग्नुभयो ?
यसको बारेमा हामीले पनि भनेका छौं । यहाँहरु पनि फलोअप गरिरहनुभएको छ । ती चिजहरु यहाँ उत्पादन नहुने र बाहिर देशहरुमा पनि अभावै भएका कारण छ । चाइनाबाट उत्पादन भएको औषधि विभिन्न देशमा जानुपर्ने भएकाले र उसले पनि भर्खरै उत्पादन गरेकाले अरु साथीहरुले ल्याउन सक्नुभएन । चाहिनेजति सामान पनि पाइएन । अनि कसरी ल्याउन सकिन्छ भन्दा छिटोछरितो माध्यमबाट यो कुरा भएको हो ।
तर, खरिदमा त ठूलो घोटाला भएछ नि ?
यसमा कुनै पनि घोटाला भएको छैन ।
यसमा करिब करिब ४० करोड रुपैयाँ तपाईंहरुले कमिसन खानुभयो रे, त्यो सही हो ?
यस्तो कुराको कुनै तुकै छैन । यो बेलामा ती सामानहरु कुन प्रक्रियाबाट कसरी खरिद गरियो त्यो पुरै कागजात यही छन् नि । अहिले त यति खायो, यसो ग¥यो भन्नुभन्दा त्यो कुरा त जति बेला पनि गर्न सकिने हो । हामीसँग सबै तयारै छ । जुन रेस्पोन्सिबल साथीहरुले धेरै मेहनतका साथ काम गरिराख्नुभएको छ । त्यसलाई यो बेलामा चाहीं सबैले सहयोग नै गरौं । तर, अनियमितता भएको भ्रष्टाचार भएको छ भने नियमानुसार कारबाही हुने नै भयो । त्यसकारण जति औषधि ल्याउन बाँकी छ त्यो पनि ल्याउँ । यसलाई यो वा त्यो भनेर मनोबल गिराउने काम नगरौं । यो अनियमितताको विभिन्न पत्रपत्रिकामा कुरा उठेका छन् । त्यसमा हाम्रो ध्यानाकर्षण पनि भएको छ । सबै नियम र प्रक्रियाहरु पुरा गरेर यो काम भएको छ । सामानहरु सबै चेकजाच भएर आएको छ । यसलाई वितरण गरेर अहिलेको संक्रमण रोक्ने काम गरौं । अहिले स्वास्थ्यमन्त्रालयलाई त्यसरी विश्वास गरौं । त्यसपछि के भएको हो त्यसको बारेमा त जतिबेला पनि कुरा उठाउन सकिन्छ नि ।
भारतीय नाकामा अलपत्र परेका नेपालीहरुलाई ल्याउने तपाईहरुको योजना छैन ?
यसको बारेमा उच्चस्तरीय समितिले निर्णय गर्छ । यसलाई सम्बोधन गर्नको निम्ति उचित समयमा उचित सम्बोधन हुन्छ ।