नेपाली राजदूतावासले अध्ययनका लागि बेलायतका विश्वविद्यालयहरुमा आएका नेपाली विद्यार्थीका लागि स्वेच्छिक रुपमा आर्थिक सहयोग मागेको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायत लकडाउन भएपछि नेपाली विद्यार्थीहरुलाई खाना खानै समस्या सिर्जना भएको गुनासो दुतावासमा आएपछि आर्थिक सहयोगको पहल अघि बढाएको हो । गत २०१५ सालमा नेपालमा महाभूकम्पका गएको बेला सरकारलाई बेलायतबाट ठ्लो आर्थिक सहयोग पठाएको दुतावासले पहिलो पटक नेपाली विद्यार्थीहरुका लागि आर्थिक संकलन गर्न लागेको छ ।
दुतावासले आर्थिक संकलन आव्हान गरे लगत्तै खाना खान अप्ठ्यारोमा परेका विद्यार्थीहरुलाई फोन, इमेल मार्फत तत्काल सम्पर्कमा आउन समेत अनुरोध गरेको छ । आर्थिक सहयोगका लागि दुतावासको इमेल [email protected] तथा उपनियोग प्रमुख शरदराज आरणको मोवाईल नम्बर उपलव्ध गराएको छ । त्यस्तै, तृतीय सचिव तेजेन्द्र रेग्मीको मोवाईल ०७४२७३३०८३७ नम्बरमा सम्पर्क राख्ने समेत आग्रह गरिएको छ ।
दुतावासले पीडित विद्यार्थीहरुलाई नाम, सम्पर्क नम्बर लिएर सहयोग गर्ने र सहयोग लिने दुवैको अभिलेखन गरि उचित समयमा विवरण सार्वजनिक गरि विशेष धन्यवाद व्यक्त गर्ने योजना बनाएको छ ।
एनआरएनए यूकेद्धारा चन्दा संकलन
यसैवीच, गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)बेलायतले पनि विद्यार्थीहरुलगायत कोभिड १९ बाट पीडितलाई सहयोग गर्ने भन्दै चन्दा संकलन सुरु गरेको छ । इंग्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा एनआरएनए यूकेले कोभिड १९ आपकालिन सहयोग कोष स्थापना गरि चन्दा उठाउन सुरु गरेको हो ।
विस्तृत खाका र योजना विनै पीडितलाई सहयोग गर्ने भन्दै आर्थिक संकलन गरिएको छ । कति रकम उठाउने ? र कस कसलाई वितरण गर्ने भन्ने बारेमा स्पष्ट खाका अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो समाचार तयार गर्दासम्म ५१ जनाले सहयोगको घोषणा गरेका छन । जसमा अधिकाश एनआरएनए यूके कार्यसमिति पदाधिकारीहरु, सल्लाहकारहरु र विभिन्न टाक्सफोर्समा बसेका व्यक्तीहरु छन् ।
व्यक्तिहरुद्धारा पनि चन्दा संकलन
यता, बेलायतमा यूनी ल्याडर कन्सल्टेन्सीका सिईओ गणेश खड्काले व्यक्तिगत पहलमा नेपाली विद्यार्थीका लागि चन्दा उठाइरहेका छन । उनले गत साता सामाजिक संजाल फेसवुकमा आर्थिक संलकन गर्न स्वयंसेवी खोजिरहेको पोष्ट समेत गरेका थिए ।
त्यस्तै, अर्का एक जना विज एजुकेसनका निर्देशक हरी कार्कीले आर्थिक संकलन गरि केही विद्यार्थीलाई वितरण गरिसकेको बताइन्छ । यद्यपी, उनले सार्वजनिक गरेका छैनन् ।-वीनेपाली डट कमबाट