लन्डन । लन्डन रहेका छोरा बुहारीले नातिको बिहे हुने खबर सुनाउंदा बडो उत्साहित थिए कर्णबहादुर क्षेत्री (७५) । दशैंमा बिहे साइत नजुरेपछि ज्योतिषीको सल्लाहमा फागुनभित्रै लगनगांठो कस्न परिवारको योजना तय हुंदा सबैमा उमंग थियो ।
गत २ मार्चको बिहेका लागि फेब्रुअरी २७ मा श्रीमतिका साथ लन्डन टेकेका थिए कर्ण । नातिको बिहे धुमधामसंग भयो । बिहे रमझमका बेला माइक नै समातेर आफ्नो नाति र दुलहीलाई आर्शीवाद दिन भ्याएका उनी तन्दुरुस्त देखिन्थे । भोजमा पाहुनाको आतिथ्यदेखि सामाजिक सांस्कृतिक गफमा उनी निकै झुम्मिए ।
तर, छोरा बुहारी मिलन केसी र सरस्वतीको घरमा बुहारी भित्रयाएर आएको खुशी महिना दिनजति पनि टिकेन । कोरोना भाइरस संक्रमणका कारण कर्णले नेपाल फर्कनु दुई साताअघि नै लन्डनमा प्राण त्यागे ।
कोभिड १९ का कारण गत बुधबार लन्डन हयारोस्थित नर्थवीक पार्क हस्पिटलमा उनको निधन भएको बुहारी सरस्वती केसीले जनाइन् ।
बागलुङ १२, अमलाचौर सरंगीका रैथाने कर्ण भारतीय सेनाका सेवानिवृत्त सैनिक र भूतपूर्व गाविस उपाध्यक्ष हुन् । उनको देहवसानको खबरले लन्डनवासीमात्र होइन्, गाउंले पनि स्तब्ध छन् ।
‘उहांले खानाको स्वाद आएन, रुचेन भन्नुभयो । एकदिनभर पखाला लाग्यो, एकपटक भोमिट भएको थियो’, बुहारीले सम्झिइन्, ‘ज्वरो खोकी केही थिएन् । तर बोली काटिने, सास फेर्न असजिलो महशुस गरेपछि हामीले चौंथो दिनमा १११ मा कल गरेर एम्बुलेन्स बोलायौं । प्यारामेडिक्सले जांच्दा अक्सिजन लेभल कम भएको भन्दै अस्पताल लगिहाले ।’
अस्पताल भर्ना भएको दश दिनमा उनी दिवंगत भए । बिना कुनै लक्षण हट्ठाकट्ठा मानिस बितेपछि परिवार र उनलाई चिन्ने जान्ने आश्चर्य मान्छन् ।
‘उहांको शक्ति देखेर हामी छक्क पर्दथ्यौं । नेपाल छंदा उहांको मुखमा औषधि कहिल्यै परेन । बरु आउनुअघि इन्सुरेन्स गर्दा हाइ प्रेसर र कोलेस्ट्रोल छ भनेपछि लन्डन नै आएर त्यसको औषधि लिन थाल्नुभएको थियो’ बुहारीले भनिन् ।
मार्च ३० बेलुका भर्ना भएपछि कर्णलाई अक्सिजन लेभल कम छ भनेर स्लाइन, अक्सिजन दिएर राखियो । ‘केही दिन स्थिर भएपनि पछि आइसीयूमा भेन्टिलेटरमार्फत हाई फ्लो अक्सिजन दिएर राख्नु परेको रहेछ’, सरस्वतीले बेलिविस्तार लगाइन्, ‘कोरोना भाइरसले फोक्सोमा आक्रमण गरेपछि उहां गम्भीर हुनुभयो । मृगौला पनि बिग्रंदै गएपछि १० औं दिन बुधबार दिउंसो बचाउन सकिएन सरी भनेर अस्पतालबाट फोन आयो ।’
आउंदो अप्रिल २६ मा फर्कने टिकट थियो । जाने कहिले हो भनेर उनी आत्तिरहेका थिए । कान्छो छोरा बुहारी जापान भएकाले तिनका ससाना छोराछोरी हेरिदिने जिम्मा भएर पनि बुढाबुढी घर फर्कन आतुर थिए ।
कर्णकी धर्मपत्नी ७१ वर्षीया सरस्वतीदेवी यतिखेर आफूलाई सम्हालिरहेकी छिन् । उनले श्रीमान मर्दापनि देखभेट पाइनन् । ४, ५ जनाबीच यही साता लन्डनमा हुने अन्तिम दाहसंस्कारमा अनुहारसम्म देख्न पाइने आशा परिवारलाई छ । अहिले परिवार सबै ‘सेल्फ आइसोलेसन’ मा छ तर संक्रमण कसैमा देखिएको छैन् ।
४ छोरा, ३ छोरीका बाबु कर्ण समाजसेवा भनेपछि हुरुक्कै हुन्थे । अघिल्लो पटक लन्डन आउंदा पनि उनले चन्दा संकलन गरि गाउंको स्कुललाई सहयोग गरेका परिवारको स्मृतिमा ताजै छ ।
कर्णकी बुहारी सरस्वती सरकारको सुझाव सल्लाह मानेर घरैमा बस्न अनुरोध गर्छिन् । ‘सतर्क हुनुपर्छ, आत्मविश्वास पनि दरिलो चाहिने रहेछ’, उनले सुझाइन्, ‘हतोत्साही नहुनु तर लक्षण केही छैन् भनेर पनि नहुने रहेछ ।’-वी नेपालीबाट