Logo

कोरोना भाइरससँग लड्दै गोविन्द



– किशोर पन्थी: अमेरिकाको शिकागोमा बस्दै आएका अर्घाखाँचीका ४४ बर्षका गोविन्द खनाल कोरोनाको महामारी फैलिएपछि अलिक डराएका थिए, किनभने रेष्टुरेण्टको फ्रन्टमा काम गर्ने उनी संक्रमणको उच्च जोखिममा थिए । शिकागोको मिसिगन एभिन्युमा रहेको उनी काम गर्ने रेष्टुरेण्टको ढोका खोल्नासाथ ग्राहकहरु फ्रन्ट डेस्क हुदै जानुपर्ने भएकाले पनि उनले आफू जोखिममा रहेको आकलन पहिले नै गरेका थिए ।]

तर पनि उनलाई आफैलाई कोरोना संक्रमण भइहाल्ला भन्ने लागेको थिएन । किनभने शिकागोमा मार्चको तेश्रो साता डाइन इन रेष्टुरेण्ट बन्द भइसेका थिए भने टेकआउट र डेलिभरीमात्र संचालनमा थियो । उनी पनि अर्डर गरेका खाना टेकआउटका लागि ग्राहकलाई सर्भ गर्नेमा नै व्यस्त थिए । डाइन इन बन्द भएपनि टेकआउटका लागि उल्लेख्य संख्यामा ग्राहकहरु आइरहेका थिए ।

मार्च २१ र २२ शनिबार र आइतबार भएकाले ग्राहकहरु टेकआउटका लागि आउने संख्या बढेको थियो । उनलाई मार्च २१ र २२ मा नै टाउको दुखेको थियो । तर उनले टाउको दुखाई कामको धपेडीका कारणले भएको अनुमान गरे । मार्च २३ सोमबार भएकाले रेष्टुरेण्ट बन्द थियो । उनी घरमै बसेर केहीबेर व्यायाम समेत गरे ।

तर उनलाई मार्च २१ बाट सुरु भएको टाउको दुखाई बढ्दै गयो । मार्च २३ मा उनलाई ज्वरो समेत आयो । व्यायामका कारण यस्तो भएको हुनसक्ने उनले अनुमान गरेका थिए । त्यसैले टाइलोनोल लगायतका औषधीहरु खाएर आराम गरे । उनले रेष्टुरेण्टका संचालकलाई पनि यसबारे जानकारी दिए ।

कोरोनाको महामारीका कारण अरु साथीहरु पनि काममा जान डराइरहेका थिए । ‘म आफैलाई पनि डर लागिरहेको थियो । त्यसमाथि मलाई लक्षणहरु देखिन थालेपछि मैले रेष्टुरेण्टका संचालक दाईलाई फोन गरेर मार्च २४ मा रेष्टुरेण्ट खोल्ने कि के गर्ने भनेर सोधें । उहाँले स्वास्थ्य पहिलो कुरा भएकाले विचार गर्न भन्नुभयो । हामीले रेष्टुरेण्ट नखोल्ने निधो गर्यौं । रेष्टुरेण्ट खोल्दा संक्रमण फैलिनसक्ने जोखिम भएकाले हामीले रेष्टुरेण्ट बन्द गर्यौं ।’-  उनले भने ।

उनी घरमै बसेर आराम गरिरहेका थिए । टाउको दुख्ने र शरिर दुख्ने क्रम रोकिएको थिएन । २५ तारिख राती उनको ज्वरो अचानक बढ्यो । उनी सम्झन्छन् घरमा ज्वरो नाप्ने थर्मामिटर थिएन । अनलाइनमा खोज्दा पनि कतै पाउन सकिएन । पछि सोधीखोजी गर्दा एकजना साथीले थर्मामिटर उपलब्ध गराउनुभयो । ज्वरो नाप्दा १ सय भन्दा माथि थियो ।

उनले यो बीचमा अन्य साथीहरुलाई पनि सम्पर्क गरे । साथीहरुसँग सुझाव लिएर विभिन्न औषधीहरु र बेसारपानी, कागतीपानी लगायतका घरलु औषधीहरु खाए । औषधी खाँदा केही घण्टा काम गरेजस्तो हुन्थ्यो तर फेरी ज्वरो आउँथ्यो । उनले अमेरिकामा रहेका नेपाली डाक्टरहरुलाई पनि सम्पर्क गरे । डाक्टरहरुले विभिन्न सुझावहरु दिए, मनोबल बढाए ।

‘अमेरिकामा रहेका नेपाली डाक्टरहरुले एकदमै राम्रो सल्लाह दिनुभयो । उहाँहरुले आत्मबल उच्च बनाउन सहयोग गर्नुभयो । स्वासप्रश्वासमा गाह्रो भए अस्पताल जान र सामान्य लक्षणमात्र रहँदासम्म घरमै बसेर आराम गर्न, ज्वरो कम गर्ने औषधी खान र झोलपदार्थ खान सुझाव दिनुभयो । साथीहरु र डाक्टरको सल्लाह मानेर घरमै आराम गरिरहें ।’ –  उनले भने ।

झण्डै एकसातासम्म आराम गर्दा पनि निको भएन । अप्रिल १ मा उनलाई निकै च्याप्यो । उनी भन्छन् – ‘एकहजार एमजीको औषधी खाँदा पनि ज्वरो कम भएन । कहिलेकाँही ज्वरो १०३ डिग्री फरेनहाइटसम्म पुग्थ्यो । ढाड यसरी दुख्थ्यो कि सिस्नोपानी लगाएजस्तो अनुभव हुन्थ्यो ।’

पानीपट्टी गर्दा र औषधी गर्दा पनि ज्वरो कम नभएपछि अप्रिल ३ को विहान ४ बजे उनले ९११ मा फोन गरे । त्यसपछि उनलाई अस्पतालको इमर्जेन्सीमा लगेर भर्ना गरियो । विभिन्न टेस्टहरु गरेपछि डाक्टरले उनको फोक्सोमा समस्या भएको र निमोनिया भएको जानकारी दिए । तर नआत्तिन र औषधीले निको हुने भन्दै डाक्टरले ढाडस थिए ।

८० प्रतिशतमा कोरोना संक्रमण भइसकेको र सबैको मृत्यु नहुने भन्दै डाक्टरले ढाडस दिए । केही औषधीहरु प्रेस्क्राइब गरे । कोरोनाको रिपोर्ट आउन २ दिन लाग्ने भएकाले घरमै गएर आराम गर्न डाक्टरले सुझाव दिए । त्यसपछि उनी अस्पतालबाट उबर चढेर घरमा आए । उनी भन्छन् – ‘उबरले पनि निकै सुरक्षित तरिकाले क्याबिन बनाएको रहेछ । मैले एप्लीकेशनबाट उबर अर्डर गरेर त्यसैमा घरमा आएँ ।’

घरमा आएर उनले डाक्टरले प्रेस्क्राइब गरेको औषधी ल्याएर खान थाले । औषधी १० दिनको थियो । तर दुईचारदिन औषधी खाएपछि नै उनले आफूलाई निको हुँदै गएको अनुभव गरे । अस्पतालबाट डिस्चार्ज भएको २ दिनपछि उनलाई डाक्टरले फोन गरेर कोरोना पोजेटिभ भएको बताए । जुनका उनका लागि अनपेक्षित थिएन । त्यसैले उनले यसलाई सहजै स्वीकार गरे ।

अहिले कोरोनालाई जीत्नसकेकोमा उनले खुशी व्यक्त गर्दै भने – ‘मैले चारपाँचदिन ज्वरोको औषधी खाएँ । अन्य औषधीको पनि १० दिनको कोर्स भर्खर पूरा भयो । लगातार तातोपानी, कागती पानी, अदुवा लसुन लगायत सेवन गरिरहेको छु । अहिले निको भएको अनुभव भएको छ । धेरै दिनको ज्वरोले कमजोर अनुभव त भएको छ । तर म लगभग रिकभर भइसकेको छु ।’

घरमा २ छोरीहरु र श्रीमतिसहित बस्दै आएका उनले आफूमा लक्षण देखिए लगत्तै आफूलाई आइसोलेट गरेका थिए । जसका कारण परिवारका अन्य सदस्यमा संक्रमण हुन नपाएको बताउँछन् उनी । अहिलेसम्म परिवारका अन्यलाई संक्रमणको कुनै लक्षण देखिएको छैन । उनी भन्छन् – ‘सक्रमणको आशंका हुनासाथ मैले आफूलाई परिवारका सदस्यबाट आइसोलेट गरें । म छुट्टै बेडमा एक्लै बसें ।’

बिरामी भएको बेलामा साथीहरु, आफन्त र शुभचिन्तकहरुले दिएको ढाडसले आफूमा आत्मबल बढेको बताउँछन् उनी । आफूलाई सल्लाह, सुझाव र ढाडस दिने सबैलाई धन्यवाद दिएका छन् उनले । रेष्टुरेण्ट तत्कालै बन्द गरिएकाले कामगर्ने सहकर्मीहरुमा पनि लक्षण नदेखिएकोमा उनले खुशी व्यक्त गरे । उनी भन्छन् – ‘मलाई त संक्रमण भयो भयो । तर परिवारका सदस्य र सहकर्मीहरुलाई संक्रमण हुन पाएन । सबै सकुशल भएकोमा सन्तोष लागेको छ ।’-खसोखासबाट साभार



प्रतिक्रिया दिनुहोस्