Logo

समाजवादी पार्टी फुटाउने असफल प्रयासमा पर्दाका यी खेलाडीको भूमिका खुल्यो



काठमाडौं, ११ वैशाख । सरकारले कोरोना भाइरसको महामारीको बखत विवादास्पद दुईवटा अध्यादेश ८ वैशाखमा ल्याएको केही घन्टामै राष्ट्रपतिले पारित गरिन् । अध्यादेश ल्याउनुको पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीको अझ शक्तिशाली बन्ने महत्वाकांक्षा र समाजवादी पार्टी फुटाउने रणनीति समेत हो भन्ने उजागर भएको छ ।

समाजवादी पार्टी फुटाउन १० वैशाखको विहानै देखि सक्रियता बढिसकेको थियो । त्यसका लागि ४० प्रतिशत अर्थात् समाजवादीको कम्तिमा ७ सांसद पुर्याउनुपर्ने थियो । रेणु यादव, मोहम्मद इस्तियाक राई, उमाशंकर अरगरिया, प्रदीप यादव, कलुदेवी विश्वकर्मा, र रेणुका गुरुङलाई व्यवस्थापन गरिसकिएको थियो । अरगरिया पनि यो खेलमा आफै सक्रिय थिए । केही सांसद तयार नभएपछि एकजनाको संख्या पुगेन । डा. सुरेन्द्र यादवलाई मनाउने प्रयास भयो ।

यादवलाई लिन काठमाडौंबाट नेकपा सांसदहरु महेश बस्नेत र किसानलाल श्रेष्ठ सहित पूर्व आइजीपी सर्वेन्द्र खनाल जनकपुरनै पुगेको खुलासा भएको छ । यसको सूचना सुरेन्द्र यादवले काठमाडौंका लागि प्रस्थान गर्नु अघि नै आफ्ना पार्टीका एक नेतालाई टेलिफोन मार्फत् जानकारी गराएका थिए । यादव निर्णायक थिए । उनले आफूलाई काठमडौं ल्याउँदाको वृस्तृत विवरण समाजवादी पार्टीका नेताहरुलाई सुनाइसकेका छन् ।

कृष्णकुमार श्रेष्ठ किसान

यादवले लिन जानेलाई समेत झड्का ख्वाएका छन् । उनलाई फुल मन्त्री बनाउने आश्वासनका साथ काठमाडौं ल्याइएको थियो । मेरियट होटलमा उनीसहितका विभाजनको पक्षका सांसदहरु राखिएका थिए । तर, उनी त्यहाँ रहेको सूचना पाएर समाजवादी पार्टीका नेताहरु पुगेका थिए ।

समाजवादी पार्टीका नेता गंगा श्रेष्ठले जानकारी दिए अनुसार मेरियट होटलको ७०१, ७०२, ७०३, ७०४ र ७०५ नम्बरको कोठामा थुनिएर राखिएको थियो । उनी साँढे ८ बजे होटल पुगेका थिए । उनी पुग्नु अगावै आङकाजी शेर्पालगायत समाजवादी पार्टीका नेताहरु पुगिसकेका थिए । उनले आफूहरुलाई होटलमा छिर्न नदिइएको बताए ।

‘९ बजेतिर कलुदेवी विश्वकर्मालगायतका सांसदहरुलाई एउटा रातो कारमा हालेर पछाडिको गेटबाट नेकपाका नो महेश बस्नेतलगायतले भगाए,’ गंगा श्रेष्ठले भने । त्यसपछि प्रहरी भ्यानले आफूहरुलाई नियन्त्रणमा लिई १० मिनेटपछि छाडिएको उनले बताए ।

यसैगरी, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेले सांसद सुरेन्द्र यादव झुक्याएर होटलबाट उम्कन सफल भएको बताएका छन् । यादवलाई १० बजेसम्म होटलमा राखेर समाजवादी पार्टीबाट फुट ल्याएर नयाँ पार्टी दर्ता गर्ने प्रयास विफल भएको छ । पाण्डेले लेखेका छन्, ‘यादवजी पिएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभएको छ ।’ समाजवादी पार्टीका नेता अशोक राई समेत यादवलाई भेट्न होटल मेरियट पुगेको पाण्डेले उल्लेख गरेका छन् ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पूर्व आइजीपी सर्वेन्द्र खनाललाई समाजवादी सांसदलाई अपहरण गर्ने जिम्मा र संवैधानिक आयोगमा नियुक्तिको आश्वासन दिइएको भन्दै ट्वीट गरेका छन् । आइजीपी खनालसँग यसबारे जानकारी लिन खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

यसैगरी, सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन संलग्न भनिएका सांसद किसानलाल श्रेष्ठ नेकपा उपाध्यक्ष वामदेव गौतमका नजिक मानिन्छन् । यस घटनामा उनको सक्रियतालाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot