काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ वैशाखमा बसेको नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकमा नयाँ अस्त्र चलाएका थिए । बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने त्यो अस्त्रले नेकपाभित्र उनलाई हटाउन लागेकाहरु मात्र नभई स्वयं बामदेव नै छक्क परेका थिए ।
आफूलाई राष्ट्रियसभा सदस्य समेतमा लान आनाकानी गरेका ओलीले एकाएक छाड्नै परे बामदेवलाई छाड्छु भनेपनि आश्चर्यमा परेका थिए । तर, उक्त बैठकमा बामदेवलाई कसरी प्रधानमन्त्री बनाउने भन्नेबारे ओलीले केही बताएनन् । चुनाव हारेका र सांसद नभएका बामदेव प्रधानमन्त्री बन्न संविधानले छेक्छ । तर, यो तीन दिनमा धेरै राजनीतिक चलखेल भइसकेको छ ।
बामदेवलाई ओलीका विश्वासपात्रहरुले प्रधानमन्त्री बनाउने उपाय समेत भनेका छन् । त्यसमा बामदेव सकारात्मक भएका छन् । तर, पटक पटक आफूलाई धोका भएकाले यसपटक उधारोमा नभई नगदमै सम्झौता गर्ने पक्षमा छन् । यसको सुनिश्चितता के ? बामदेव पक्षको भनाई रहँदै आएको छ । छ पटक धोका खाएको सुचीसहित लेखेर बामदेव बसेका रहेछन् ।
बामदेवका लागि प्रधानमन्त्री कसरी बनाउने भन्ने रणनीतिक तयारी समेत ओली पक्षबाट गइसकेको छ । ओलीका विश्वासपात्र समेत रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ऋषि धमलासँगको अन्तवार्तामा बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाएर प्रधानमन्त्री बनाउन सकिने खुलाइसकेका छन् ।
प्रतिनिधिसभाको एक सिट खाली राखी चुनाव गराएर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन सकिने उनको भनाई छ । चुनाव गर्ने मिति समेत बताएर बामदेवलाई ओलीको साथमा ल्याउन खोजिएको छ । जसमा उनी सकारात्मक भएको बुझिएको छ । बामदेवका लागि उनले रोजेकै सिट खाली गराउने तयारी समेत भएको छ । जसमा पाल्पा र कास्की मध्ये एक हुनसक्छन् । बामदेवको रोजाई पाल्पा छ । त्यहाँ नेकपाको बलियो पकड छ । अरु क्षेत्र पनि हुनसक्छन् । मंसिरसम्म चुनाव गरिसक्ने तयारीबारे पनि उनलाई जानकारी गराइएको स्रोतले बतायो । यसमा उनी पूर्ण सहमत भए नभएको आज बस्ने सचिवालय बैठकमा खुलस्त हुनेछ ।