Logo

प्रवासी नेपालीलाई रोके लकडाउन तोडेर सीमानाकाबाट प्रवेश गर्ने चेतावनी



काठमाडौं, २३ वैशाख । भारतमा रहेका प्रवासी नेपालीहरु स्वदेश प्रवेशमा रोकिएपछि आक्रोशित भएका छन् । उनीहरुले प्रवेशमा रोक लगाइरहेमा कडा कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले नेपाली नागरिकहरु रोजगार गुमाएको र बाटोमा अलपत्र परेर भोक भोकै परेको भन्दै सीमाको ढोका तत्काल खोज्न आग्रह गरेका छन् । रेडियो एनआरएनका लागि ऋषि धमलासँग कुराकानी गर्दै पाण्डेले ढोका नखोले लकडाउन तोडेर प्रवेश गराउने चेतावनी दिए ।

‘जनआन्दोलन हुँदा भारतबाट नेपाली भित्राउने, अहिले आपतमा पर्दा सीमा बन्द गर्ने ?’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले भारतबाट भने, ‘यस्तै हो भने लकडाउन तोडेरै भएपनि नेपालीहरुलाई प्रवेश गराउँछौं ।’ नेपालीहरु बाटोमै अकालमा ज्यान गमाइरहेको उनको भनाई थियो । हरिद्धारमा बच्चासहित दुईजना नेपाली नागरिकको मृत्यु भएको र अन्य स्थानमा पनि मृत्युको सुचना आएको बताए ।

स्वास्थ्य परीक्षण गर्न र क्वारेन्टाइनमा बस्ने गरी नेपाली नागरिकलाई भित्राउन आग्रह गरे । उनले नेपाली नागरिक प्राण नै त्याग्नुपरेपनि स्वदेशमा त्याग्न चाहिरहेको बताए ।

भारतका लागि नेपालका राजदुत निलाम्बर आचार्यले हिजो एनआरएन रेडियोमा ऋषि धमलासँगको अन्तवार्तामा नेपाली नागरिकको पीरमर्का सुनुवाई गरिरहेको भनी झुट बोलेको आरोप लगाए । राजदुत आचार्यले भारतमा रहेका नेपालीहरुलाई कुनै समस्या नरहेको र समस्या परेमा दूतावासमा फोन गर्न आह्वान गरेका थिए ।

जनसम्पर्क समिति अध्यक्ष बालकृष्ण पाण्डेले दूतावास अत्यन्त सुस्त रहेको र नेपालीका बारेमा वेप्रवाह रहेको आरोप लगाए । नेपाल सरकार र दुतावासको व्यवहार देख्न नेपालीलाई यही मार्न खोजे जस्तो देखिएको गुनासो पनि गरे ।

पाण्डेले भारत प्रवासी नेपालीहरु निकै आक्रोशित भएको बताए । प्रवासी नेपालीको आक्रोशले गम्भीर अवस्था ल्याउने चेतावनी समेत दिए । भुटानलगायत अन्य देशले आफ्ना नागरिक भारतबाट लगिरहेको अवस्थामा नेपालले नागरिक रोक्नु गैरजिम्मेवारी भने ।



प्रतिक्रिया दिनुहोस्