Logo

कोभिड १९ बाट नेपालबाहिर ९६ नेपालीको मृत्यु (कहाँ कति)



काठमाडौं, ४ जेठ । नेपाल बाहिर कोरोना भाइरसबाट ठुलो संख्यामा नेपालीहरुको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार प्रवासमा ९६ नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ ।
संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा नौ, साउदी अरबमा दुई, आयरल्याण्डमा एक, जापानमा एक, टर्कीमा एक, नेदरल्याण्ड एक, बहराइन एक, स्वीडेन एक र नेपाल एक, जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए । समितिका अनुसार मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् ।

कोरोना भाइरसका कारणले यो साता मात्रै १७ जनानेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये युके १२, युएई तीन र साउदी अरबमा दुई रहेको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै, एनआरएनए समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ६ हजार सात सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

ती मध्य मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोप १९, एशियामा ५ प्रतिशतमा संक्रमणमा देखिएको छ । अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

संक्रमितमध्ये ३५ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता अपनाउन नेपाली समुदायलाई अनुरोध समेत गरेका छन् ।

उनले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककोमा वा संघको स्वास्थ्य सेवा हटलाईनमा सम्पर्क गर्न आव्हान गरेका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ११ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित छन् ।

समितिका अनुसार कतार दुई हजार पाँच सय, अमेरिका एक हजार ६ सय, युके एक हजार दुई सय २१, बहराइनमा तीन सय ११, युएई दुई सय, कुवेत ८४, नेपाल २८१, साउदी अरबमा ६ सय ७४, मलेसिया ४९, पोर्चुगल २९, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १३, अष्ट्रेलिया १२, जापान १०, माल्दिभ्स १०, बेल्जियम ६, स्वीडरल्याण्ड पाँच, जर्मनी चार, फिनल्याण्ड चार, साईप्रस तीन, न्युजिल्याण्ड तीन, माल्टामा दुई, हङकङ दुई, पोल्याण्ड दुई, म्यानमार एक र फ्रान्समा एक जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।



प्रतिक्रिया दिनुहोस्