काठमाडौं, ९ जेठ । कतारीलाई अन्धाधुन्दा खुकुरी हानेर हत्या गरेकोमा दोषी ठहरिएका नेपाली नागरिकलाई फाँसीको सजाय दिइएको छ । सजाय पाउनेमा महोत्तरीका अनिल चौधरी छन् । उनलाई गोली हानी मृत्युदण्ड दिइएको हो ।
कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो नै पहिलो घटना हो । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको फैसलाबमोजिम उनलाई मृत्युदण्ड दिइएको हो।
उनले नुयमीलाई दर्जनौंपटक खुकुरी प्रहार गरेको फैसलामा उल्लेख छ। चौधरीलाई सन् २०१७ अप्रिलमा कतारी प्रहरीले पक्राउ गरेको थियो।
महोत्तरीको औरही १ का स्थानीय बासिन्दा चौधरी कतारमा मजदुरी गर्थे । मृत्युदण्डपछि
कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिइसकेको छ ।
कतारमा मृत्युदण्ड सजायको फैसला सुनाइएका नेपाली अरू समेत रहेपनि उनीहरुको सजाय कार्यान्वयन भइसकेको छैन। चौधरी २०१५ अगस्ट २७ तारिख कतार गएका थिए। क्लिनिङ कम्पनीमा उनी सामान्य मजदुरको काम गर्थे।