Logo

नेकपाभित्रको विवाद उत्कर्षमा, ओली–प्रचण्ड आ–आफ्नै अडानमा



काठमाडौं, १२ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास गर्नुपर्ने पक्षमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अडान राखेपछि विवाद उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री ओेली एमसीसीको पक्षमा उभिँदा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका बहुमत नेता एमसीसीको विपक्षमा उभिएका छन् ।

जसका कारण नेकपाले लामो समय बितिसक्दासमेत एमसीसीका बारेमा निर्णय लिन सकेको छैन । सरकार सञ्चालनमा पार्टीसँग समन्वय नगरेको भन्दै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्र चर्का आलोचना हुँदै आएको छ ।

एमसीसी पास गर्ने पक्षमा प्रधानमन्त्री ओलीले अडान कसे पनि पार्टीभित्र एमसीसी संशोधन गरेर मात्र पास गर्नुपर्ने पक्षमा बहुमत देखिएपछि झन् तनाब बढेको हो ।

प्रधानमन्त्रीको कदमका विरुद्ध नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मोर्चाबन्दी गरेपछि पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।

बुधबार बसेको नेकपाको स्थायी समिति बैठकमा एक–अर्काबीच घोचपेचमा उत्रिएका प्रधानमन्त्री ओली र प्रचण्डबीच विवाद मत्थर बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

भेटमा प्रधानमन्त्रीले मिलेर अगाडि बढ्न प्रस्ताव गरेको र जवाफमा प्रचण्डले पार्टी एकतादेखि देखाएको लचकताको फाइदा उठाउदै आफूलाई अधिकारविहीन बनाएको भन्दै असन्तुष्टि जनाएको प्रचण्डको सचिवालयले बताएको समाचार आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot