Logo

बामदेव निवासमा राति एक बजेसम्म ओली निकट आधा दर्जन नेताहरु



काठमाडौं, २० असार । नेपाल कम्युनिस्ट पार्टीको संकट टार्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थहरु सक्रिय भएका छन् । उनीहरु गएराति ८ देखि १ बजेसम्म भैंसेपाटीस्थित बामदेव गौतमको निवासमा पुगेर गम्भीर छलफल गरेका छन् ।

डिनरसहितको छलफलमा सचिवालय सदस्य इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, विष्णु रिमाल, शंकर पोखरेललगायत थिए । उनीहरुले पार्टीलाई फुटबाट जोगाउन ओलीलाई साथ दिन गौतमलाई मनाउन खोजेका थिए । तर, गौतमले पार्टीको निर्णय बमोजिम सबै चल्नुपर्ने भन्दै सहमति निकाल्न आफू तयार रहेको जवाफ दिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

गौतमसँग छलफल गर्दै नेताहरुले प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्क गरेका थिए । गौतमले पनि आफ्ना पक्षका नेताहरुसँग सम्पर्क बनाउँदै छलफल गरेको बुझिएको छ । पाँच घन्टा चलेको छलफलमा ठोस निष्कर्ष ननिस्के पनि आज बस्ने स्थायी कमिटी बैठकले लिनसक्ने गम्भीर निर्णय भने तत्काललाई रोकिएको छ । अब दुई दिनका लागि बैठक सारिएकाले आज र भोलि घनीभूत छलफल चलाउने सहमति भएको छ ।

अध्यक्ष प्रचण्डले कुनै हालतमा पछि नहट्ने अडान लिएपछि ओली पक्षका नेताहरु बामदेवको साथ खोज्न सक्रिय भएका छन् । तर, गौतमले कम्प्रमाइज नपर्ने अडान लिएका छन् । उनले मध्यमार्गी बाटो खोजेर सहमतिको बिन्दु निकाल्न भुमिका निभाउने जवाफ दिएका छन् । उनले पार्टी फुटाउने पक्षलाई आफ्नो साथ नहुने स्पष्ट पारेका छन् ।

यसअघि ओलीइतरको समुहले आजको बैठकमा गम्भीर निर्णय लिने टुंगो लगाइसकेको थियो । आज प्रधानमन्त्री ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्ने सम्मको तयारी थियो । तर, बैठक स्थगित भएकाले तत्काल नेकपाभित्रको दुर्घटना टरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्