काठमाडौं, ६ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनसम्म अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेरै जाने रणनीति लिएका छन् । पूर्व माओवादी केन्द्रका स्थायी कमिटी सदस्यहरुसँगको आन्तरिक छलफलमा दाहालले एकता प्रक्रिया नटुँग्गिएसम्म अर्का अध्यक्ष ओलीसँग सहकार्य जारी राख्नेमा आफू पुगेको भन्दै राजीनामाको एजेण्डाबाट ब्याक भएको सन्देश प्रवाह गरेका थिए ।
स्रोतकाअनुसार दाहालले एकता महाधिवेशन सम्पन्न भएपछि आफू एकल अध्यक्ष बन्ने उद्देश्यले अहिलेलाई ओलीसँग सम्झौता गर्नुको विकल्प नभएको कुरापनि आफूनिकट नेताहरूलाई ब्रिफिङ गरेका थिए । दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने,‘पार्टी एकतापनि मैले ओलीजीसँग सहमति गरेर गरेको हो । त्यसैले अहिले नै सहमतिबाट ब्याक हुनुहुँदैन् । यसले राम्रो सन्देश जाँदैन् । म एकता प्रक्रियाप्रति गम्भीर छु । तपाईहरुले मेरो प्रयत्न देखिरहनुभएको छ । म अन्तिमसम्म पनि यही प्रयत्न गर्नेछु ।’
दाहालले एकता महाधिवेशनपछि आफू एकल अध्यक्ष हुने भएकोले त्यतिञ्जेलसम्म ओलीसँग मिलेर जाने र बरिष्ठ नेता माधव कुमार नेपालसँगपनि समदुरीको सम्बन्ध राख्ने आफ्नो रणनीति सुनाएका छन् । पछिल्लो समय ओलीको राजीनामा माग्दासम्म दाहाल र नेता नेपाल समूह एक ठाउँमा उभिएका थिए । तर, दाहालले मंसिरमै एकता महाधिवेशन गर्ने भनेर ल्याएको ओलीको प्रस्ताव सहमति जनाएपछि दाहालप्रति नेपाल समूह सशंकित बनेको छ । दाहालले भने आफूले ओलीसँग सहमति नै गरिनसकेको जिकिर गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन लागेको र भारतको उक्त षड्यन्त्रमा नेकपाकै नेताहरुको हात रहेको टिप्पणी गरेपछि दाहालमाथि सामाजिक सञ्जालमा भारतीय दलाल भन्नेखालका आरोपहरु लागेको छ । ‘ओली चीनको र आफू भारतको नजिक भनेर यहाँ ट्याग लगाउने काम भयो, यो ट्याग हटाउनको लागि पनि ओलीसँग सहकार्य गरेर जानु पार्टीको हितमा हुनेछ ।’–दाहालले आफूनिकटसँग भन्ने गरेका छन् ।
त्यस्तै, पछिल्लो समय लेखराज भट्ट, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, रामबहादुर थापाले समेत ओलीलाई साथ दिएकोले दाहाल सशंकित बनेका छन् । उनीहरुको मत पनि ओलीसँग मिलेर जाँदा नै सबैको हित हुने रहेको छ । त्यसैले आजभोलि दाहालले आफूनिकट नेताहरुसँग भन्न थालेका छन्,‘महाधिवेशनसम्म ओलीसँग सहकार्य गर्ने र एकता महाधिवेशनबाट एकल अध्यक्ष बन्ने, त्यसपछि माधव कमरेडसँग सहकार्य गर्नुको विकल्प रहेन । मैले मोटामोटी यही रणनीति बनाएको छु ।’