काठमाडौं, ८ साउन । नेपाली काँग्रेसमा गएको महाधिवेशना तेस्रो गुटमध्ये पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न अवस्थामा पुगेको छ । सिटौलाले अर्को महाधिवेशनसम्म गुट जोगाएर राख्ने हरसम्भव प्रयास गरेपनि नसक्ने अवस्था बनेको छ । उनको समुहका खम्बाहरु क्रमशः सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको समुहतिर जान थालेका छन् ।
सिटौला समुहबाट महामन्त्रीका उम्मेदवार बनेका लोकप्रीय नेता गगन थापा पौडेलसँग नजिकिदै गएका छन् । उनी युवा पुस्ताका नेताहरुलाई साथमा लिएर आफै बलियो रुपमा प्रस्तुत हुने तयारीमा छन् । थापाले देउवाबाट कुनै बलियो जिम्मेवारी नपाउनुमा पनि उनको पौडेल पक्षसँगको निकटता कारण बनेको छ ।
नेविसंघका पूर्व सभापति समेत रहेका अर्का लोकप्रीय नेता प्रदीप पौडेल पनि सिटौलाबाट टाढिदै गएका छन् । उनको निकटता पौडेल पक्षसँग बढेको छ । आगामी महाधिवेशनमा पौडेल पक्षमा रहेर पदाधिकारी हात पार्ने रणनीतिका साथ लागिपरेका छन् । कुनैबेला संस्थापन पक्षका उम्मेदवार बद्री पाण्डेलाई नेविसंघ सभापतिमा चुनाव हराएर सभापति बनेर प्रदीप पौडेलले प्रभाव पुष्टि गरेका थिए । उनको युवा पुस्तामा दरिलो पकड रहेको छ ।
गगन र प्रदीप तेस्रो गुटको दुई खम्बा रहँदै आएकामा दुवै टाढिदै जानुमा सिटौला नै कारण रहेको उक्त समुहका एक नेताले बताए । सिटौला आफै देउवासँग नजिकिन थालेका छन् । उनी केही समय पहिला पौडेलसँग नजिकिएर देउवालाई चुनौती दिएका थिए । तर, अहिले आएर पुनः देउवासँग नजिकिएका छन् । देउवालाई कडा चुनौती दिएर आगामी महाधिवेशनो तयारी गर्नुपर्नेमा फरक ढंगले लागेको भन्दै सिटौला समुहका कतिपय नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।
सिटौला समुहबाट कोषाध्यक्षको चुनाव लडेका उमाकान्त चौधरी देउवासँग नजिक रहँदै आएका छन् । भीमसेनदास प्रधान र शिव हुमागाईंले देउवासँग निकटता बनाइसकेका छन् । गुट भएपनि कोही देउवातकाँग्रेर्फ त कोही पौडेलतर्फ लाग्नुले काँग्रेसभित्र कतिपयले यसको अस्तित्व नरहेको ठान्ने गरेका छन् । सिटौलाले पौडेललाई हराएर देउवालाई जिताउन भुमिका खेलेको पौडेल पक्षको बुझाई रहँदै आएको छ ।
नेपाली काँग्रेसको आगामी महाधिवेशन कहिले हुने टुंगो छैन । विधान अनुसार यसवर्ष हुनुपर्ने हो । पूर्व तयारीस्वरुव देउवाले पौडेल समुहका नेता कार्यकर्तालाई जिम्मेवारी दिदै आकर्षित गर्दैछन् । यसले पनि महाधिवेशन कसैका लागि सजिलो नभएको देखाइरहेको छ । सिटौलाको समर्थन जसलाई हुन्छ त्यसले अवस्थामा फेरबदल ल्याउन सक्छ । तर, सिटौला गुट छिन्नभिन्न अवस्थामा पुग्दा आगामी महाधिवेशन दुई गुटको प्रतिष्पर्धामा सिमित हुनसक्ने देखिएको छ ।
संस्थापन पक्षमा शेरबहादुर देउवा सभापतिको एकल उम्मेदवार देखिन्छन् । पौडेल पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिको उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । यस्तो अवस्थामा देउवालाई चुनौती दिन पौडेल पक्षमा एकता आवश्यक रहेको भन्दै केही नेताहरुले सक्रियता बढाइरहेका छन् । सिटौला पक्षका असन्तुष्ट नेता कार्यकर्तालाई ल्याएर गुट बलियो बनाउने र एकता कायम गरी सभापतिको उम्मेदवार बनाउने तयारी भइरहेको छ ।