काठमाडौं, ३२ साउन । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताएका छन् । उनले अब आफू पार्टी र देश हाँक्नका लागि तम्तयार भएको समेत बताए ।
‘म शेरबहादुरजीलाई सभापतिमा पराजित गर्न सक्छु,’ सिंहले ऋषि धमलासँग जनता जान्न चाहन्छन् अन्तवार्तामा आज भने, ‘अब शेरबहादुरजीको नेतृत्वमा पार्टी चल्दैन, म नेपाली काँग्रेसलाई प्रभावशाली टिम दिनसक्छु ।’ आफूले तल्लो तहदेखि राजनीतिमा सक्रिय भएकोले अनुभव समेत हासिल गरिसकेको बताए ।
देश र काँग्रेसले जिम्मेवार र प्रभावशाली नेतृत्व खोजिरहेको र आफू त्यसमा सक्षम भएको बताए । पार्टी सभापतिको दाबी प्रस्तुत गरिरहँदा सबैलाई मिलाएर लाने समेत बताए । उनले भने, ‘अब सबैले छातिमा हात राखेर भन्नुपर्छ, उमेरले मात्र हुँदैन पार्टीलाई संस्थागत रुपमा चलाउन धेरै विषयहरुले काम गर्छ ।’
देउवाको विकल्प दिन पार्टी सभापतिमा सबै आकांक्षीहरु मिलेर जानुपर्नेमा जोड दिए । वर्तमान उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइरालाका अलावा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि मिलेर जाने ठाउँ रहेको बताए । राजनीतिमा सम्भावना भएको बताउँदै भने, ‘अब पार्टीलाई नयाँ र प्रभावशाली नेतृत्व दिन मेरो नेतृत्वमा टिम मिलाएर जानेमा सबैमा सहमति हुनसक्छ ।’
उनले भने, ‘नेपाली काँग्रेस शेरबहादुर देउवाबाट चल्दैन भन्ने निष्कर्षमा पुगेकाहरुको मिलनबिन्दु बनिसकेको छ, त्यसैको अधारमा पार्टी जोगाउन मिलेर जान्छौं ।’ महाधिवेशनमा जाँदा सबैले जिम्मेवारी पाउने ठाउँ समेत भएको बताए ।
आफ्ना पिता गणेशमान सिंह र माता मङ्गलादेवी सिंहले नेपालको राजनीतिमा त्यागको सन्देश दिएको स्मरण गराउँदै आफूले माता र पिताको छविलाई अझ उच्च राखेर काम गर्न सक्ने बताए । उनले भने, ‘गणेशमान सिंहजीले त्याग गर्नुभयो भन्दैमा मैंले पनि त्याग नै गर्नुपर्छ भन्ने छैन ।’ यद्यपि, देश र पार्टीका लागि आवश्यक परेमा आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताए ।