काठमाडौं, १ भाद्र । ‘तपाईंहरु आफै समस्या सृजना गर्ने आफै समाधान गर्न नसक्ने ?’ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले विवाद समाधान गर्न गठित कार्यदलप्रति यसरी असन्तुष्टि जनाए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको द्वन्द्वका कारण समस्या सृजना भएको भन्दै गौतमले उनीहरु बसेरै समस्याको निकास निकाल्नुपर्ने बताए ।
नेकपाका एकजना सचिवालय सदस्यका अनुसार गौतम निकै कडा ढंगले प्रस्तुत भएका थिए । उनले कार्यदल चाहिएको भए सचिवालय किन चाहियो ? भनी प्रश्न समेत गरेका थिए । कार्यदलमै भएकालाई सचिवालय सदस्य बनाए भैगो सम्म भनेका थिए ।
दुई अध्यक्ष बसेर खाका तयार गरी सचिवालयमा छलफलका लागि ल्याउनुपर्नेमा कार्यदल बनाएर अपरिपक्व कार्य गरेको गौतमको तर्क थियो । उनले अध्यक्षद्वय ओली र प्रचण्डलाई विवाद निकाल्न सक्ने समाधान किन निकाल्न नसक्ने भनी प्रश्न गरेका थिए । बैठकमा बामदेवको प्रस्तुती दुवै अध्यक्षप्रति कठोर थियो । उनले देश कोरोना महामारीसँग जुधिरहँदा महिनौंसम्म विवादमा अल्झँदा पार्टीप्रतिको नकारात्मक दृष्टिकोण बढेको समेत औल्याएका थिए ।
बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी पद्धति र प्रणाली अनुसार चल्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले दुई अध्यक्षले मात्र पार्टी चलाउन खोजेको भन्दै आलोचना गरेका थिए । यसअघि कार्यदल गठनमा दुई अध्यक्षको निर्णय भएको थियो । यसप्रति आलोचना भएपछि नेकपा सचिवालयले अनुमोदन गर्न बैठक डाकिएको थियो ।