काठमाडौं, १५ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई संसदको यही कार्यकालमा सांसद बनाउनेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेका छन् । गौतमले राष्ट्रियसभामा नआउने बताएपछि ओलीले अहिलेका एक सांसदलाई राजीनामा दिन लगाएर भएपनि उक्त क्षेत्रमा चुनाव लडाएर संसदमा ल्याउन चाहेका छन् । स्रोतकाअनुसार ओलीले वामदेवलाई प्रतिनिधिसभामा ल्याउने र आगामी चुनावी सरकारको नेतृत्व गर्न दिनेसम्मको योजना बनाएका छन् ।
बामदेवको नयाँ राजनीतिक अस्त्रले तरंग, राष्ट्रियसभामा लानुपर्ने जिकिर
पछिल्लो समय नेकपाभित्रको विवाद मिलाउनको लागि वामदेवले ओलीलाई साथ दिएका थिए । उनले एकताको पक्षमा भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । र, त्यसमा ओलीले संसदको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने र महाधिवेशनसम्म अध्यक्षपनि रहने उल्लेख गरिएको थियो । सचिवालयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहलाई साथ दिईरहेकै अवस्थामा वामदेवले एकाएक क्याम्प परिवर्तन गरी आफूलाई ओली समूहमा उभ्याएका थिए ।
नेकपानिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले नेता गौतमलाई डोल्पाबाट चुनाव लड्न सुझाव दिएका छन् । यसका लागि डोल्पाबाट निर्वाचित नेकपाका सांसद धनबहादुर बुढाले राजीनामा दिएर क्षेत्र खाली गरिदिने भएका छन् । हुन त बुढाले राजीनामा दिने र बुढाको क्षेत्रबाट गौतम चुनाव लड्ने कुरा यसअघि नै चर्चामा थियो । तर, त्यहाँका जनताले बुढालाई राजीनामा नदिन दबाब दिएका थिए ।
वामदेवलाई संसदमा ल्याउनको लागि ओलीमात्रै होईन, अर्का अध्यक्ष दाहाल पनि सकारात्मक छन् । दाहालले सार्वजनिक रुपमै अब प्रधानमन्त्री बन्ने पालो वामदेवको भनेर सम्बोधन गरेका छन् । दाहालकै अग्रसरतामा यसअघि वामदेवलाई काठमाडौं क्षेत्र नम्बर-७ बाट उठाउने तयारी भएको थियो । त्यसको लागि उक्त क्षेत्रका सांसद (हालका मन्त्री) रामवीर मानन्धरले राजीनामा दिने कुरा पनि आएको थियो । तर, ओलीको असहमतिका बावजुद वामदेव काठमाडौं क्षेत्र नम्बर-७ बाट चुनाव उठ्ने च्याप्टर क्लोज भएको थियो ।
गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया-१ बाट कांग्रेस नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । उनलाई संसद्मा ल्याउन नेकपा अध्यक्षद्धय ओली र दाहालले पूनः एकपटक गृहकार्य सुरु गरेका छन् । हुन त वामदेवको लागि यसअघि नै सांसद बुढाले राजीनामा दिएर बाटो खोल्न आफू तयार रहेको सन्देश दिएका थिए । ओलीले चुनाव लड्न तयार हुन गौतमलाई भनेका छन र चुनाव जिताउने जिम्मा आफूले लिने बताएको स्रोतको दाबी छ । File Photo