काठमाडौं, २४ असोज । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले आजमात्रै काठमाडौं उपत्यकाका मनहरा खोला, नयाँ बानेश्वर तेस्रो आँखा युवा क्लब, ददिकोटस्थित् गाम्चा र बल्खुस्थित् भुवनेश्वर मन्दिर परिसरमा गुर्जोको विरुवा, गुर्जोको चिया, चिया प्याकेट, धुलो औषधी वितरण गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरेर उनले ती ठाउँका प्रतिनिधिहरुको उपस्थितिमा निःशुल्क गुर्जो वितरण गरेका हुन् ।
विगत ६ महिनादेखि काठमाडौं उपत्यकामा केन्द्रित भएर निःशुल्क गुर्जो वितरण महाअभियानमा होमिएका राजलवटले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म निःशुल्क गुर्जो वितरण गरिसकेका छन् । उनले गुर्जो ‘बहुउपयोगी र बहुगुणकारी’ भएकाले यसको नियमित सेवन गर्दा स्वास्थ्य अवस्था राम्रो हुने र शरिरमा रोग प्रतिरोधात्मक क्षमतासमेत वृद्धि हुने दाबी गरे ।
उनले भनेका छन्,‘अहिले पूरा विश्व कोभिड–१९ बाट आक्रान्त छ । नेपालपनि यसबाट अछुतो छैन् । कोरोना भाइरसबाट संक्रमित भएकाहरुलाई समेत गुर्जो उपयोगी सावित भैसकेको छ । अहिलेसम्म हामीलाई प्राप्त भएको प्रतिक्रियाहरु सकारात्मक छन् । गुर्जोको नियमित सेवन गर्दा कोरोना संक्रमितहरु निको भएको प्रतिक्रिया आएको छ ।’ उनकाअनुसार काठमाडौं सितापाईलाका ७ जनाको परिवार (जो संक्रमित थिए) उनीहरुले गुर्जोको नियमित सेवन गरेर कोरोना जितेको प्रतिक्रिया छ ।
महोत्तरी स्थायी घर भएका राजलवट आन्तरिक राजश्व कार्यालय, लहान–सिराहामा प्रमुख कर अधिकृतको रुपमा कार्यरत छन् । राजलवटले आजभन्दा ११ वर्ष अघिबाट गुर्जोको सेवन गर्दै आएका छन् । ‘अरुले भनेको सुनेर मैले गुर्जो सेवन गरेको थिएँ, तर यसले धेरै राम्रो गर्यो । त्यस दिनदेखि मैले नियमित सेवन गरेको छु । र, देशभरि निःशुल्क वितरण अभियमान होमिएको छु । सबैबाट साथ, सहयोग र सकारात्मक प्रतिक्रिया आएका छन् ।’ उनले आफूले जनु जुन ठाउँमा गुर्जो वितरण गरेका छन्, ती ती ठाउँबाट समेत गुर्जोको माग बढेको जनाए ।
कार्यक्रमका तस्विरहरू :