Logo

ओलीविरुद्ध आक्रामक बन्दै माधव नेपाल



काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक बन्दै गएका छन् । उनले ओलीको कार्यशैलीको चर्को आलोचना गर्दै आएका छन् । सरकार सञ्चालनमा ओलीप्रति निकै असन्तुष्ट रहेका उनी पछिल्लो समय आक्रामक बन्दै गएका छन् ।

नेपालले आजै विज्ञप्ति जारी गरी सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । कोरोना संक्रमितको उपचार नागरिक आफै गर्नका लागि निर्देशिका जारी गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । उनले सरकारको यो निर्णयलाई विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी भनेका छन् ।

जुन विषयमा नेपालले सरकारको आलोचना गरेपनि यसबाट उनको ओलीप्रति तिव्र असन्तुष्टि प्रकट भएको छ । विगतमा पनि सार्वजनिक रुपमा उनले ओलीको आलोचना गरेका थिए ।

नेपाल पछिल्लो समय बालुवाटार जाँदैनन् । उनले ओलीसँग ‘वन टु वन’ भेट नगरेको धेरै भइसकेको छ । यसबाट दुई नेताबीच दुरी बढेको बुझ्न सकिन्छ ।

ओली अझै आक्रामक बनेपछि प्रचण्ड नयाँ रणनीति साथ प्रस्तुत हुँदै

ओलीको सत्ता संकट आउँदा माधव नेपाल नै मुख्य खेलाडी देखिएका थिए । तर, दुई पटक ओलीको सत्ता ढाल्ने प्रयास सफल भएनन् । दुवैपटक माधव नेपाल एक्ला जस्तै भए । तर, फेरि माधव नेपाल सक्रिय भएका छन् ।

पछिल्लो समय नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालले भित्री सहमति गरेका छन् । ओलीविरुद्ध आक्रामक रणनीति बनाएर नेपाल अगाडि बढ्ने तयारीमा छन् । आज उनले सरकारप्रति व्यक्त गरेको असन्तुष्टिले त्यसलाई अझ पुष्टि गरेको छ । दशैंलगत्तै कडा कदम चाल्ने गरी प्रचण्डसँग माधव नेपालको भित्री सहमति बनेको बुझिएको छ । यसकारण पनि माधव नेपाल ओलीविरुद्ध आक्रामक बन्दै गएका छन् ।

ओलीलाई हटाउन प्रचण्ड र नेपालले बनाए यस्तो डिजाइन



प्रतिक्रिया दिनुहोस्

Screenshot