प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेट प्रोटोकलभित्रै रहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार थापाले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘प्रधानमन्त्रीले रअ प्रमुखलाई भेटेको होईन, रअ प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्रीले शिष्टाचार गर्नुभएको हो । सरकार प्रमुखले यस ढंगको भेटघाट गर्ने चलन नै हुन्छ । शिष्टाचार भेट दिने चलन हुन्छ । यही शिष्टाचार भेट दिनुभएको हो ।’
भारतका गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्रीबीचको भेटवार्तामा के/के कुरा भयो ?
प्रधानमन्त्रीले रअ प्रमुखलाई भेटेको होईन, रअ प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्रीले शिष्टाचार गर्नुभएको हो । सरकार प्रमुखले यस ढंगको भेटघाट गर्ने चलन नै हुन्छ । शिष्टाचार भेट दिने चलन हुन्छ । यही शिष्टाचार भेट दिनुभएको हो ।
होईन, शिष्टाचार भेट गर्दापनि परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ला, प्रतिनिधि बस्नुपर्ला, किन राखिएन ? प्रश्नहरु त उठान भएका छन् नि ?
यो चाहीँ कुटनीति भन्दापनि विभिन्न संयन्त्रहरु, सेनाको प्रतिनिधिहरु आउँछन्, सुरक्षा सल्लाहकार आउँछन् । राजदूत आउँछन् । राजदूतले भेट्छन् । ती सन्दर्भमा प्रधानमन्त्रीले आवश्यकत्ताअनुसार शिष्टाचार भेटहरु दिन सक्नुहून्छ । यो कुनै आकाश खस्नेगरि तपाईले भनेजस्तो भुकम्प आउने विषय होईन् ।
तर, रअ प्रमुखलाई भेट्दाखेरि प्रधानमन्त्रीले प्रोटोकल नै बिर्सिनुभयो अरे नि त ? कुटनीतिक क्षेत्रका जानकारहरुले त टिप्पणी गरिरहेका छन् नि ?
प्रोटोकल भनेर उहाँहरुलेक सरी बुझ्नुभएको हो ? सरकार प्रमुखहरुले जहाँ तहीँ विभिन्न संयन्त्रका, विभिन्न कुटनीतिक क्षेत्रका व्यक्तिहरुले भेट गर्न खोज्दा शिष्टाचार भेट दिने चलन छ । त्यो प्रोटोकलभित्रै पर्छ । प्रोटोकल मिलेन, भएन भन्ने साथीहरुले र कुटनीतिज्ञहरुले एउटा चलिरहेको बानी रअका प्रमुखलाई भेट्न दिल्ली धाउने, यहाँ चाहीँ गोप्य रुपमा खुसामत गर्ने, विभिन्न खालका त्यस्ता भेटघाट गर्नेहरुको प्रोटोकल मिलेन होला । प्रधानमन्त्रीज्यूले आफ्नो सरकारी निवासमा शिष्टाचार भेट माग्दा भेट दिनुभयो । र, त्यो जनतालाई जानकारी गराउनुभयो कि मैले चाहीँ शिष्टाचार भेट दिएँ । यस सन्दर्भमा चाहीँ यत्तिमात्रै कुरा हो । प्रोटोकल यसमा मिलेको छ । बानी उल्टो लागेकाहरुलाई यो सुल्टो बानी चाहीँ नपचेको हुनसक्छ ।
अब राजनीतिक स्तरमा र कुटनीतिक स्तरमा नेपाल–भारत सम्बन्ध अगाडि बढाउनुपर्छ भनेर भनिरहँदा प्रधानमन्त्रीले एउटा एजेन्सीको प्रमुखसँग भेट्दाखेरि राजनीति तरंगित भयो नि ?
नेपाल–भारत सम्बन्ध जनस्तरमा पनि अगाडि बढाउनुपर्छ । कुटनीतिक रुपमा पनि अगाडि बढाउनुपर्छ । कुटनीतिक तहमा पनि हाम्रो यस सम्बन्धमा थुप्रै विषयहरु छलफल गर्न बाँकी छन् । यस्ता विभिन्न संयन्त्रका मानिसहरुले भेट माग्दा भेट दिनुपर्छ । यो चाहीँ नेपाल–भारत सम्बन्धका निम्ति यो बाटोभन्दा अरु बाटो छैन भन्ने ढंगले भेटेको पनि होईन् । उहाँहरु आउनुभयो, उहाँहरु आएको बेलामा प्रधानमन्त्रीले शिष्टाचार भेट दिनुभयो । यसलाई यही सिमामा, यही तहमा मात्रै राखेर बुझ्नु आवश्यक हुन्छ । हाम्रो बीचमा पनि दुई देशका प्रधानमन्त्रीको बीचमा कुरा भएका छन् । परराष्ट्रमन्त्रीको तहमा, परराष्ट्र सचिवको तहमा, विभिन्न द्धिपक्षीय संयन्त्रमा, बहुपक्षीय संयन्त्रमा, यहाँ हामीकहाँ चाहीँ भारतका आवासीय राजदूत हुनुहुन्छ, उहाँले विभिन्न समयमा भेट्नुभएको छ । विभिन्न भ्रमणहरु हुन्छन्, ती भ्रमणहरुको बेलामा भेट गर्नुपर्ने हुनसक्छ । यो त के हो भने तपाईले सामन्तकुमार गोयलजीलाई नै होटलमा लाईन लागेर मट्टितेलको लाईन लागेजस्तो लागेर भेट्ने अनुहाहरु सम्झनुहोस न। उहाँ अहिले पहिलो चोटी आउनुभएको होईन नि । यो त उहाँको दोस्रो चोटीको भ्रमण होला । यो भन्दा पहिले उहाँ नियुक्त भएर आउँदा नेपाली राजनीतिक को को व्यक्तिहरु ? को को महाशयहरुले मट्टितेलको लाईन लाएजस्तोगरि लाईनमा बसेर भेट्नभएको थियो ? यो कुन लुकेको कुरो छ र ? प्रधानमन्त्रीज्यूले त औपचारिक हिसाबले जानकारी गराउनुभएको छ । जनतालाई मैले शिष्टाचार भेट दिएको छु भनेर भन्नुभएको छ । त्यसो भएको हुनाले गोप्य रुपमा भेट्ने, खुसामत गर्ने, षड्यन्त्रकारी योजनाहरुमा सामेल हुनेहरुले प्रोटोकल नमिलेको भन्न सक्छन् । तिनीहरुको कोकोहोलो सधैं चलिराखेकै छ नि । उनीहरुलाई सोधेर भेट्नुपर्ने पनि होईन नि, ऋषिजी ।
तपाईकै पार्टीका प्रभावशाली नेता भीम रावलले त प्रधानमन्त्री ओली र रअ प्रमुखबीचको भेटवार्तालाई लिएर आपत्ति जनाउनुभएको छ । उहाँले यसले राष्ट्रिय स्वाभिमानमा धज्जी उडाउने काम भयो भनेर टिप्पणी गर्नुभएको छ नि ? के भन्नुहुन्छ ?
रावलजी राष्ट्रवादको लाईसेन्स दिने व्यक्ति होईन । उहाँले पार्टी, नीति र सिद्धान्त, विधि, विधान उहाँले जे पढ्नुभएको छ । हामी सबैले पढेको त्यही हो । उहाँ राष्ट्रवादको अधिकारी होईन । जसले लाईसेन्स दिओस् । यस्तो चाहीँ दुनियाँ हाँस्ने कुरा गर्नुहुन्न । उहाँले के बोल्नुभयो भन्नेबारे मलाई के कमेन्ट गराउनुहुन्छ ?
तर, पनि नेपालको संविधानद्धारा निर्देशित नेपालको परराष्ट्र नीति, स्वाधिनता र स्वाभिमान तथा सरकारको नेतृत्व जसरी नेपाल कम्युनिष्ट पार्टीले गरिराखेको छ, ुजुन विचार र नीति छ, घोषणापत्रको विपरित भयो, यो आपत्तिजनक छ, यसलाई प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्छ भन्ने उहाँको भनाई छ । तपाई के भन्नुहुन्छ ?
प्रधानमन्त्रीले त भेट भएको कुरा प्रष्ट पार्ने काममा उहाँको सचिवालयले त प्रष्ट पारिसकेकै छ नि । उहाँ प्रष्ट हुनुपर्यो र उहाँले बुझ्नुपर्यो । परराष्ट्र सम्बन्ध के हो ? विभिन्न खालका भेटघाटहरु के हुन ? यी सबै चिजहरु कसरी अगाडि बढ्छन् ? प्रधानमन्त्रीको तहमा चाहीँ क–कसलाई अनुमति लिएर भेट्ने कुरा हुन्छ त ? त्यो त हुन्न । उहाँले आवश्यक ठान्नुभयो भने यस्ता भेटहरु हुन्छन् । दुनियाँमा यस्ता भेटघाटका प्रचलनहरु छन् । यी कुराहरु जनतालाई जानकारी गराईएको छ । जनतालाई थाहा छ । शिष्टाचार भेट माग्दा शिष्टाचार भेट दिईएको छ । त्योबाहेक कहाँ संविधानविरोधी ? कहाँ घोषणपत्र विरोधी ? कहाँ पार्टी नीति विरोधी ? यो ढंगको अपव्याख्या र भ्रम पार्ने काम गर्नुहुँदैन् । यो चाहीँ सबै मान्छेले पढेकै छन् । पार्टीको नीति, सिद्धान्त सबैले व्याख्या गरिराखेकै छन् । यसमा रावलजीले राष्ट्रवादको यो खालको अपव्याख्या गर्न आवश्यक छैन् । किनभने यो सबैलाई जानकारी भएको विषय नै हो । दुनियाँमा चलेको प्रचलनकै विषय हो ।
यो भेटवार्तालाई लिएर यहाँले विभिन्न पक्ष र विपक्षको टिप्पणी पनि सुनिरहनुभएको छ, जनमत तरंगित बनेको छ, नेपालको राजनीतिक र कुटनीतिकमा पनि भारतीय गुप्तचरी एजेन्सीको प्रवेश भयो भन्ने छ नि ?
त्यस्ता फुर्सिदला मान्छेहरुले यस्तो धेरै कुराहरु गर्नसक्छन् । कुरा के हो भने नेपाल–भारत सम्बन्धको विषयमा राजनीतकि र कुटनीतिक रुपमा गरिने कुराहरु मुख्य हुन् । यो जनस्तरको सम्बन्ध अरु विभिन्न सम्बन्धका सन्दर्भमा पनि सरकार प्रमुखले प्रधानमन्त्रीले विभिन्न तहका यस्ता भेटवार्ताहरु दिने प्रचलन नै हो । परम्परा नै हो । अभ्यास नै हो । यसमा कुनै तरंगित हुने विषयहरु नै छैन् । तपाई यही जाँतो घुमाईरहनुभएको छ, यसरी जाँतो घुमाएर कुनै परीणाममा पुगिन्न ऋषिजी । कसले के भने ? फुर्सदिला मान्छेहरुले के भने ? भन्नेबारे धेरै कुरा गर्न म आवश्यक ठान्दिन् । यो कुनै मानिसहरुको सकारात्मक आशय र नियतहरुमा जोडिएको, उठेको प्रश्नका रुपमा चाहीँ छैन् ।
तर, दिपकुमार उपाध्यायले के भन्नुभएको छ भने परराष्ट्रमन्त्रीले बोल्नुपर्दथ्यो, उहाँहरुले बोल्नुभएन भन्नुभयो । जस्तो, प्रकाशचन्द्र लोहनीले त परराष्ट्र र गृहमन्त्रीले त राजीनामा दिनुपर्छ भन्नुभएको छ। प्रधानमन्त्रीको जुन राष्ट्रवादी छवि थियो, त्यो चाहीँ उतारियो भन्ने उहाँहरूको प्रतिक्रिया छ नि ? के भन्नुहुन्छ ?
कसले भनेको ? प्रकाशचन्द्रजीले वा दिपकुमारजीले ? प्रकाशचन्द्रजीको पञ्चायतमा यस्तो हुन्थ्यो होला । यो चाहीँ उहाँलाई भ्रम छ क्या । उमेरका हिसाबले पनि, बौद्धिकताका हिसाबले पनि अब सकारात्मक हिसाबले सोच्न, बोल्न नसक्ने स्थितिमा पुग्न नसक्नुभएको हो कि ? कुरा के हुन्छ भने प्रधानमन्त्रीजीसँग शिष्टाचार भेटघाटका निम्ति अनुरोध भैसकेपछि भेटघाट दिनुभयो । प्रधानमन्त्रीज्यूको भेटघाटको सम्बन्धमा उहाँले पब्लिकलाई, जनसमूदायलाई जानकारी गराएको विषयमा यो चाहीँ कुन कुटनीतिक भेटघाट हो ? भनेर भनिएको छ । एउटा दुई देशको सम्बन्धमा हाम्रो विभिन्न आयामहरु छन् । त्यसमध्ये भारतको एउटा संयन्त्रको गुप्तचर संयन्त्रको प्रमुख आउँदा शिष्टाचार भेट माग्नुभयो । प्रधानमन्त्रीबाट उहाँले त्यस्तो भेट पाउनुभयो । यहाँ नेपालका कतिपय सम्पादकहरुले, कतिपय पत्रकारहरुले रअ प्रमुखसँग प्रधानमन्त्रीको शिष्टाचार भेट भनेर तपाईले अघि सोधेजस्तो उल्टासुल्टा क्वेशन गर्ने यस्ता दिमाग बिग्रिएका मानिसहरु पनि छन् ऋषिजी । कुरा के हुन्छ भने प्रधानमन्त्रीसँग शिष्टाचार भेटमा उहाँ आउनुभएको हो भनेर औपचारिक रुपमा सार्वजनिक गरिएको कुरा पढ्न सकिन्छ कि सकिन्न ? म यति कुरा भन्न चाहन्छु । प्रधानमन्त्रीसँग उहाँ शिष्टाचार भेटमा आउनुभयो । शिष्टाचार भेट गर्नुभयो । फर्किनुभयो । यति सजिलै बुझ्न सकिने विषय छ । उहाँले आफ्नो धारणा के राख्नुभयो भनेर विषय चाहीँ बताईएकै छ । कुरा के हुन्छ भने विषयलाई बंग्याउने, दुद्नियतका साथ बदनाम गराउने, र लुकेर यस्ता भेटहरु गरिरहेको बानी परेकाहरुले प्रधानमन्त्रीले जनसमूदायलाई आफूलाई निर्वाचित गर्ने जनतालाई जानकारी गराएर भेट्ने समय मागेको हुनाले, शिष्टाचार भेट खोजेको हुनाले मैले भेट दिएको हुँ भनेर भन्दाखेरि चाहीँ कहाँ कुटनीतिक परम्पराको, कहाँ कुटनीतिक मूल्यको बर्खिृलाप कुरा भयो त ? यसमा यसरी विषयलाई तोडमरोड गर्नुपर्ने जरुरी म देख्दिन् ।
तर, प्रधानमन्त्रीको राष्ट्रवादी छबि धुमिल भयो र धज्जी उड्यो भन्नेहरु पनि छन् नि बाहिर ?
त्यसो भन्नेहरु मनमा कुटकुट पूर्वाग्रह पालेका, उनीहरुले राष्ट्रवादको के कुरा गर्नु ? हिजो नाकाबन्दीको बेला न उच्चार गर्न नसक्ने, विरोधमा बोल्न नसक्ने, मौन बस्ने, समर्थन गर्ने, जनताले दुःख पाउँदा त्यसको बारेमा केही नगर्ने, नेपालका हितहरुको बारेमा कहिल्यै राम्रोसँग कुराहरु नगर्ने, अरुको दलाली गर्नेहरुले अहिले राष्ट्रवादको स्यालहुईँया धेरै गरिरहनुपर्ने मैले आवश्यक देख्दिन् । तिनीहरुको सबै अनुहारहरु, सबै भूमिकाहरु ज्नताको जानकारीमा छन् । सबै बुझ्ने, विश्लेषण गर्नेहरुको जानकारीमा छन् । धेरै राष्ट्रवादको हुईँयाा किन मच्चाउनुपर्यो ? प्रधानमन्त्रीको अडान नेपाली राजनीतिमा खुल्ला किताबजस्तै छ । उहाँले कुन घट्नाक्रममा, कुन सन्र्दभमा, कुन विषयवस्तुमा, कुन मुद्दामा, कुन प्रसँगमा कसरी अडान लिनुभएको छ ? भन्ने कुराको बारेमा अलिक गहिरोगरी अध्ययन गरे हुन्छ नि । अध्ययन पुगेको छैन भने अध्ययन गरे हुन्छ । उहाँ अध्ययनका लागि खुल्ला किताब नै हुनुहुन्छ नि ।
त्यसो भए मलाई एउटा कुरा बताउनुहोस त, रअ प्रमुख गोयल किन नेपाल आउनुभएको थियो ? के-के कुरा भयो ?
त्यो उनीहरुले बताउने कुरा हो । प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा किन आएको हो ? तिर्थ गर्न आएको हो कि ? सेनापतिको भ्रमणको तयारीको निम्ति आएको हो कि ? प्रधानमन्त्रीको दूत भएर आएको हो कि ? यो हामीले बताउने विषय होईन् । प्रधानमन्त्रीसँगको भेटमा उहाँले दुई देशका सम्बन्धका बारेमा आफ्ना केही धारणा राख्नुभयो । प्रधानमन्त्रीले भेट दिनुभयो । अरु कुरा उहाँ किन आउनुभएको हो ? किन छोटो समय बस्नुभयो कि लामो समय बस्नुभयो ? यी कुरा बताउने चाहीँ तपाईले सम्बन्धित पक्षलाई सोध्नुहोस् । यो चाहीँ प्रधानमन्त्रीको तहबाट हामीले यसबारेमा बताउनुपर्ने म जरुरी ठान्दिन् । किनभने यो उहाँहरुले बताउने प्रश्न सोध्नुभयो ।
होईन, प्रधानमन्त्रीसँगको भेटमा उहाँहरुबीच के के कुराकानी भयो ? त्यो त तपाईलाई थाहा छ नि ? जनतालाई बताईदिनुहोस न ?
होईन, तपाईले हिजै प्रेस नोट हेरिसक्नुभयो नि । नेपाल–भारत मैत्री सम्बन्धलाई खलबलिन नदिने, दुई देशबीच रहेका समस्याहरुलाई सम्वादद्धारा समाधान गर्ने, र परस्पर सम्बन्धलाई निरन्तर अगाडि बढाउने, यीनै विषयमा उहाँले आफ्नो धारणा राख्नुभएको हो । प्रधानमन्त्रीले समकक्षीसँगजस्तो धेरै कुरा गर्नुपर्ने के कुरा भयो र ? उहाँले आफ्नो धारणा के राख्नुभयो भन्ने कुरा पनि हाम्रो प्रेस नोटमा सार्वजनिकनै छ । तपाईहरुजस्ता साथी अलमलिनुपर्ने आवश्यकत्ता छैन् । यहाँ विभिन्न खालका मानिसहरुले मच्चाउन खोजेका र फैलाउन खोजेका भ्रम र त्यस्ता हुईँयाहरु, त्यस्ता गलत माहोलहरु सिर्जना गर्ने प्रयासहरु यी खेदजनक छन् । यी माहोलहरुले केही फरक पार्दैनन् । यी माहोलहरु चाहीँ नेपालमा विकसित घट्नाक्रमहरुलाई नियतवश गलत दिशा दिन उद्धत शक्ति र व्यक्तिहरुका प्रयासमात्रै हुन् ।
रअ प्रमुख किन नेपाल आउनुभएको हो ? भन्नेबारे सरकार बेखवर ने हो त ? यसबारेमा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालय किन बोलेनन् त ?
गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयले यसबारेमा किन बोल्नुपर्यो ? नेपालमा दूतावास बस्न किन अनुमति दिनुभएको त ? नेपालमा भारतीय दूतावास छ, उहाँहरुको आफ्ना भ्रमणहरु चलिरहन्छन् । के सन्दर्भमा आउनुभएको हो ? तपाईले चाहीँ उहाँहरु किन आउनुभएको हो भन्ने कुरा उहाँहरुको कुरालाई फलो गर्नुहोस न । हामीले चाहीँ उहाँको भ्रमण, उहाँ किन आउनुभएको हो भनेर प्रयोजन बताउनुपर्ने यो प्रश्न मिलेन ऋषिजी । नमिलेको प्रश्नको सही जवाफ पाउनुहुन्न ।
मैले त जनताको चासोको विषय उठाएको हुँ नि, तपाई त प्रधानमन्त्रीको प्रेस सल्लाहकार हो, बताईदिनुहोस !
जनताको पनि जायज चासोको जायज सम्बोधन, जायज जिज्ञासको त्यही ढंगको सम्बोधन हुन्छ । नाजायज जिज्ञासा र प्रश्नको सही जवाफ आउँदैन नि त ।
रअ प्रमुखले प्रधानमन्त्रीसँग गरेको शिष्टाचार भेटलाई लिएर यहाँको पार्टीभित्रैबाट आलोचना भयो नि ? यसको रहस्य के होला ?
प्रधानमन्त्रीको हरेक भेटहरु कसलाई कुन चाहीँ सबै थाहा दिनुपर्ने अरे ? प्रधानमन्त्री नै पार्टी अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीको टिममा नै पार्टीका साथीहरु हुनुहुन्छ । प्रधानमन्त्रीको सचिवालयमा नै पार्टीका नेताहरु हुनुहुन्छ । मन्त्रिपरिषदमा नै पार्टीका नेताहरु हुनुहुन्छ । पार्टीले त चलाईरहेको सरकार हो यो । पार्टीको कुन व्यक्तिलाई जानकारी दिनपर्ने अरे ? प्रधानमन्त्रीका दैनिक सेड्युल, दैनिक भेटघाट कसलाई जानकारी गराउनुपर्ने अरे ?
पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिँदै संकटको बेला नेपाली जनता टुहुरा भएका छन अब कसले अभिभावकत्व ग्रहण गर्ने भन्नुभएको छ नि ? तपाईको प्रतिक्रिया के छ ?
उहाँलाई त्यो लाग्नु स्वभाविक हो । तर, जनताले के सोधिरहेका छन् भने उहाँका एकमात्र सुपुत्र पारश शाह खर्चविहीन भएर युट्युबहरुमा कुन हालतमा देखिनुभएको छ, पोखरामा, कहाँ, आफ्नो एकमात्र छोरालाई टुहुरो बन्न दिन भएन । उहाँको अभिभावकत्व ग्रहण गर्नुपर्यो । उहाँलाई हेरबिचार गर्नुपर्यो । उहाँलाई लालनपालन गर्नुपर्यो । उहाँको यो बेहाल अवस्था हुन भएन । यो टुहुरो जनता भए भन्ने तर बास्तवमा उहाँको एकमात्र सुपुत्र टुहुरोजस्तो भौतारिने स्थिति हुनुभएन । उहाँले गलत वक्तव्य दिनुभएको छ । सही कुरा चाहीँ यो हो भन्ने म जानकारी गराउन चाहन्छु ।