Logo

ओलीविरुद्ध अविश्वासको प्रस्तावसम्मको तयारी



काठमाडौं, १४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेरि घेराबन्दी भएको छ । उनलाई सत्ताबाट हटाउने भित्री योजनाहरुले फेरि गति लिन थालेको छ । ओलीविरोधी गठबन्धनले पार्टी केन्द्रीय कमिटी बैठक डाकेर भएपनि सरकारबाट फिर्ता बोलाउने देखि अविश्वासको प्रस्ताव सम्म दर्ताको तयारी गरेको बुझिएको छ ।

ओलीलाई पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले योजना बनाएको बुझिएको छ । गठबन्धनमा अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्यहरु छन् । विशेषगरी प्रचण्ड र नेपालबीच सरकार एकजनाले र पार्टी अर्कोले हाँक्ने गरी सहमति दशैं अघि नै बनेको थियो ।

ओलीले स्थायी कमिटी बैठकले पनि पारित गरेको विगतको सहमति कार्यान्वयन नगरेको भन्दै प्रचण्ड र नेपाल असन्तुष्ट रहँदै आएका छन् । विश्वस्त स्रोतका अनुसार दुवै नेताले ओलीलाई बारम्बार ‘सच्चिन मौका दिंदा पनि नसच्चिएको’ भन्दै कठोर कदम चाल्ने तयारी गरेका हुन् । माधव नेपालले त वामदेवका कारण यसअघि नै बनेको योजना विफल भएको आन्तरिक छलफलमा भन्दै आएका छन् । यसपटक वामदेव ओलीविरुद्ध सबैभन्दा कठोर रुपमा प्रस्तुत हुन थालेका छन् । उनले आफूलाई ओलीबाट धोका भएको भन्दै अब कुनै हालतमा नअलमलिने बताइसकेको बुझिएको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत बहुमत भएको प्रचण्ड र माधव नेपाल पक्षधरले पार्टी निर्णयबाट अगाडि बढ्ने तयारी गरेका हुन् । तर, ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । दशैंभर ओली पक्षले संसदीय दलमा बलियो अवस्था बनाउन गृहकार्य समेत गरेको बुझिएको छ । कुनैपनि बेला अविश्वासको प्रस्ताव आउन सक्ने सूचनाका आधारमा यसको गृहकार्य भएको हो । तर, आफ्नो पक्षमा आएका भनिएका प्रचण्ड निकट सांसदहरुको पनि पूरा भरोसा नभएपछि ओली पक्ष रक्षात्मक बन्न थालेको छ ।

प्रचण्ड र माधव नेपालबीचको गठबन्धनले कुनैपनि बेला आफूविरुद्ध कडा कदम चाल्न सक्ने बुझेर ओलीले नयाँ राजनीतिक अस्त्र छाडेका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई दशैंअघि र दशैंको समयमा दुईपटक भेटेका छन् । भेटमा पूर्व एमालेबीचको एकतामा जोड दिएको र भविष्यमा पार्टी नेतृत्वका लागि तयार रहन नेपाललाई आग्रह गरेको बुझिएको छ । तर, नेपालले भने यसमा विश्वास नगरेको बुझिएको छ ।

ओली पक्षधर नेताहरु अर्का अध्यक्ष प्रचण्डसँग पनि सहमति निकाल्न सक्रिय भएका छन् । केन्द्रीय कमिटी बैठकले कठोर अवस्था सृजना गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी हाललाई स्थगित गरिएको छ । यसका लागि प्रचण्ड सहमत भएका छन् । तर, प्रचण्ड र माधव नेपालबीच कर्णाली प्रदेशमा बनेको सहमति र ओलीलाई हटाउने गरी समेत बनेको सहमतिले नेकपाभित्र तरंग आइरहेको छ । ओली पक्षले यसलाई घेराबन्दीका रुपमा बुझेर तोड्ने कसरत गरिरहेको छ । यसका लागि प्रचण्ड र माधव नेपाल दुवैबीच बनेको गठबन्धन तोड्ने प्रयास भइरहेको छ । विगतमा घेराबन्दी पटक पटक तोडेका ओलीको यसपटक फेरि अर्को परीक्षामा छन् ।



प्रतिक्रिया दिनुहोस्