Logo

बालुवाटारमा ‘कोर-टिम’ सँग ओलीको छलफल



काठमाडौं, १४ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मनमुटाव बढेको छ । दुई अध्यक्षबीच पछिल्लो दुई हप्तादेखि कुराकानी हुन सकेको छैन् । पार्टीभित्र दुई अध्यक्षबीचको विवादको दूरी बढ्दै गएको छ । ओलीले अध्यक्ष दाहालसँग भेट्नको लागि आफूनिकट नेताहरुलाई दूत बनाएर खुमलटार पठाएका छन् । तर, दाहालले बालुवाटार नजाने सन्देश पठाएका छन् ।

पार्टीको कर्णाली प्रदेशको विवाददेखि पर्सामा आफ्नै पार्टीका कार्यकर्ताहरुको झडपमा कार्यकर्ता मारिँदासम्म आईपुग्दा नेकपामा विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो तीन दिनदेखि दाहाललाई भेट्न ओलीले आफ्ना दूतहरु पठाईरहेका छन् । सुरुमा, महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई खुमलटारमा पठाएका थिए । तर, दाहालले ओलीले पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए । र, आफू बालुवाटार जान नसक्ने जवाफ दिएका थिए ।

यो बीचमा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि दुई पटक एक्लाएक्लै भेटवार्ता गरेका थिए । उनले नेता नेपालसँग मिलेर अघि बढ्न आग्रह गरेका थिए । तर, नेता नेपालले आफूले विधि र प्रक्रियासम्मत ढंगले पार्टीलाई अघि बढाउनुपर्ने आवाज उठाएकोले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने धारणा राखेका थिए । ओलीले दाहाललाई भेट्न आफ्नो तर्फबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीपनि पठाएका छन् । तर, सबै नेताहरुसँगको भेटमा दाहालले आफू बालुवाटार जान नसक्ने जवाफ दिएको नेकपानिकट स्रोतको दाबी छ ।

आजमात्रै ओलीले मन्त्री ज्ञवालीलाई खुमलटार पठाएका थिए । तर, दाहालले ज्ञवालीलाई आफू आईसोलेशनमा बसेकोले बालुवाटार जान नसक्ने जवाफ दिएका थिए । ज्ञवाली खुमलटारबाट फर्किएलगत्तै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो कोर टिमसँग रणनीतिक छलफल सुरु गरेका छन् । उक्त छलफलमा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन् । तर, दाहालले यो बीचमा अन्य नेताहरुलाई भने भेटिरहेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हल्ला चलिरहेको बेला बालुवाटारमा ओलीले आफ्नो कोर टिमसँग सल्लाह गरेका हुन् । नेता नेम्वाङले दिएको जानकारीअनुसार अब कसरी अघि बढ्ने भन्नेबारे बालुवाटारमा छलफल भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्