काठमाडौं, १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय के के कुराकानी भयो ? भन्नेबारे आफूलाई थाहा नभएको र बुझ्न नपाएको प्रतिक्रिया दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार धमलाले अब नेकपा फुट्ने भयो अरे हो ? भनेर सोधेको प्रश्नमा उनले भने,‘अब म पश्चिमतिर छु । मैले पनि तपाईँकै न्यूजबाट सुन्ने कुरो भयो । यथार्थ कुरो के हो ? मलाई त्यस्तो लाग्दैन् । पार्टी नै फुट्ने कुराले त कसैको हित हुँदैन् । प्रधानमन्त्रीजीले पार्टी फुटाउनुपर्छ भन्नुभयो भनेर मलाई लाग्दैन् ।’ आफू मन्त्रालय र व्यक्तिगत काममा गृहजिल्ला पुगेको उनले सुनाए । काठमाडौं फर्केपछि र नेताहरुलाई भेटेपछि कुरा बुझ्ने उनको भनाई छ । उनले हिजो पार्टी एकता गर्दा नै असम्भव भएपनि आफूहरुले एकता गरेर त्यसलाई सम्भव तुल्याएको उल्लेख गर्दै अहिले पनि पार्टीलाई फूटबाट जोगाउन सकिने विश्वास दिलाए । उनले भने,‘जनताले दिएको मतलाई नेताले भुल्नुहुँदैन् । हामीप्रति जनताको ठूलो आशा छ । भरोसा छ । यो कुरालाई कसैले पनि भुल्नुहुँदैन् ।’
उनले अध्यक्षद्धय ओली र दाहालबीच हिजो के कुरा मिलेर पार्टी एकता भयो ? अहिले के कारणले फुट्नुपर्ने भन्ने प्रश्नको जवाफ त नेतृत्वले दिनुपर्ने बताए । उनले भने,‘त्यो कुरा हिजो किन आएन ? हिजो प्रचण्डले ओलीलाई चिन्नुभएको थियो कि थिएन ? नचिनिकन किन एकता गर्नुभयो ? अहिले कहाँनिर के मिलेन ? विचारमा नमिलेको हो कि भागबण्डामा नमिलेको हो ? त्यो कुरा त प्रष्ट पार्नुपर्ला नि । भागबण्डाको निम्ति पार्टी फुटाउनुपर्छ भन्ने होईन् । नेताहरुलाई के पुगेन ? भन्ने कार्यकर्ताको मनोकांक्षा छैन् । कोही पनि कार्यकर्ता फुटको पक्षमा छैनन् ।’
https://www.facebook.com/RishiDhamalaOfficial/videos/421520562183633