काठमाडौं, २१ कात्तिक । बिहिबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केही फरक रुपमा प्रस्तुत भए । उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने खेल भइरहेको र त्यसको सामना गरिने बताए । बुधबार सार्वजनिक रुपमै आफूले कुनै हालतमा राजीनामा नदिने बताएको भोलिपल्ट ओलीले अविश्वासको प्रस्तावको सामना गरिने बताएका हुन् ।
यसै हप्ता प्रधानमन्त्री ओलीबाट आएका अभिव्यक्ति र उनका कदमहरुले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको संकेत गर्दछ । ओलीलाई हटाउन उनको विपक्षी समूह योजनावद्ध तरिकाले सक्रिय भएको छ । विशेषगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूह पार्टी बैठक डाकेर ओलीबारे निर्णय गर्ने पक्षमा देखिएको छ । तर, ओली बैठक डाक्ने पक्षमा छैनन् । प्रचण्ड बैठक डाक्न जोड दिइरहेका छन् ।
ओलीलाई नेकपा बैठकले निर्णय गर्दैमा प्रधानमन्त्रीबाट हट्नुपर्ने वाध्यात्मक अवस्था बन्दैन । संविधान अनुसार उनी संसदमा अल्पमतमा परेमा मात्र पदबाट हट्नेछन् । त्यसका लागि उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेछ ।
संसद अधिवेशन नभएको अवस्थामा संविधानत २५ प्रतिशत सांसदले विशेष अधिवेशनको लागि सभामुखसमक्ष निवेदन दर्ता गर्न सक्छन् । यस्तो अवस्थामा अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ ।
अहिलेको अवस्थामा विशेष अधिवेशनको निवेदन दिएर अविश्वासको प्रस्ताव दर्ता गर्ने गणपूरक नेपाल कम्युनिस्ट पार्टी या नेपाली काँग्रेससँग मात्र छ । काँग्रेस अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा देखिदैछ । यस्तो अवस्थामा अविश्वासको प्रस्ताव नेकपाभित्रबाटै दर्ता हुनसक्छ । त्यसका लागि प्रचण्ड र माधवकुमार नेपाल पक्षधर एक हुनुपर्ने अवस्था छ । यी दुई नेता एक भएमा नेकपा संसदीय दलमा बहुमत या त्यसको आसपास हुनसक्छन् । तर, ओली पक्षले आफ्नै बहुमतको दाबी गर्दै आएका छन् ।
ओलीविरुद्ध अविश्वासको प्रस्तावको भित्री तयारी दशैं अगाडि नै चर्चामा थियो । त्यसका लागि सांसद तानातानसम्मको अभियान चलेको थियो । यही सूचनाका आधारमा ओलीले पछिल्लो समय पार्टीभित्रका विरोधीप्रति कडा अभिव्यक्ति दिएका छन् ।