काठमाडौं, २३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा तीन घन्टा छलफल भएको छ । आफ्नो पक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तसहित पुगेका नेपालले पार्टी कुनै हालतमा फुट्न नदिने स्पष्ट पारेका थिए । उनले बरु ओलीलाई पार्टीलाई एकतावद्ध बनाएर लान ठोस प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।
ओलीले नेकपा फुटको संघारमा पुगेको विषय औल्याएपछि नेपालले पार्टी एकताका लागि ठोस प्रस्ताव ल्याउन भनेको बुझिएको छ । नेपालले पार्टी बैठक नटार्न आग्रह गरेका थिए । उनले पार्टी विधि र पद्धति अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए ।
विश्वस्त स्रोतका अनुसार ओलीले पूर्व एमालेबीच एकतामा जोड दिए । उनले जनताको बहुदलीय जनवादका पक्षधरबीच एकतामा जोड दिएका थिए । तर, नेपालसँग गएका नेताहरुले जबजको नाममा पार्टीमा गुटबन्दी गरेर सिद्धान्तको दुरुपयोग गर्न खोजिएको विषय उठाएका थिए ।
नेपालले ओलीसामु आफूलाई पूर्वाग्रही तरिकाले पेल्न खोजेको विषय समेत औल्याएका थिए । उनले ओलीसामु गल्तीको समिक्षा गरेर बढ्न आग्रह गरेको बुझिएको छ ।
भेटमा ओलीले आफू झन् स्वस्थ भएको विषय राखेका थिए । उनले कपाल पनि सेतोबाट कालो हुनथालेको भन्दै ठट्टा गरेका थिए ।
ओलीले पछिल्लो समेत समय माधव नेपालसँग पटक पटक भेटवार्ता गरिसकेका छन् । उनले नेकपा विवादमा आफूलाई साथ दिन नेपाललाई विभिन्न प्रस्तावहरु राखेको विषय बाहिर आइरहेको छ । तर, नेपाल ओली पक्षमा रहने भन्दा पार्टी एकतावद्ध बनाउने मध्यमार्गी बाटो निकाल्न सक्रिय भएका छन् ।