Logo

सुर्य चिन्हका लागि रस्साकस्सी



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टी औपचारिक विभाजन हुनमात्र बाँकी छ । अब विभाजित पार्टीमा एउटाको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन् भने अर्कोको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् ।

नेकपा विभाजनपूर्व प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी विधयेक ल्याउने चर्चा छ । निर्वाचन आयोगमा उनीविरोधी पक्षधरले कारबाहीको जानकारी दर्ता गरिसकेको अवस्था छ । अब उनी पक्षधर केन्द्रीय कमिटी बैठक बसेकाले प्रचण्डलाई पनि कारबाहीको निर्णय गरी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भएको बुझिएको छ ।

दल विभाजनको अवस्थामा नेकपाभित्र सुर्य चिन्हका लागि मुख्य लडाईं हुनसक्छ । बहुमत केन्द्रीय कमिटी रहेकाले कानुनत आफूले पार्टी, झण्डा र चुनाव चिन्ह पाउनुपर्ने प्रचण्ड पक्षको दाबी हुनसक्छ । तर, ओलीले अध्यक्ष आफू भएकाले चुनाव चिन्हको दाबी गर्न सक्छन् । यो अवस्थामा दुवै पक्षबीच रस्साकस्सी हुनसक्छ ।
नेकपाभित्र स्थायी कमिटी र केन्द्रीय कमिटीमा बलियो हुन दुवै पक्ष सक्रिय छन् । तटस्थलाई पनि आफ्नो पक्षमा पार्ने तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले मन्त्रीको प्रस्ताव गरी धेरैलाई तान्ने तयारी गरेको बुझिएको छ । तटस्थमा रहेका बामदेव गौतम, टोपबहादुर रायमाझी, मणि थापा, हरिबोल गजुरेललाई पनि ओली पक्षले आश्वासन दिएको बुझिएको छ । तर, यी नेताहरु पर्ख र हेरको अवस्थामा छन् ।

बहुमत केन्द्रीय सदस्य हुनेको साथमा पार्टी, चुनाव चिन्ह र झण्डा रहने व्यवस्था छ । तर, अहिलेको राजनीतिक दलसम्बन्धी व्यवस्थाले नेकपा फट्न सक्दैन । विधयेक अनिवार्य भएकाले यो ल्याउनसक्ने प्रधानमन्त्री ओलीमात्र छन् । यसले नेकपाभित्र फेरि विधयेकको चलखेल हुने देखिदैछ । विशेषगरी सुर्य चिन्हका लागि रस्साकस्सी पर्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot