Logo

फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप



काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समूहमा विभाजित भएपछि चिनियाँ राजदूत होउ यान्छीले फेरि राजनीतिक दौडधूप चलाएकी छिन् । उनले आज विहान प्रचण्डसँग खुमलटारमा पुगेर भेटेकी छिन् । भेटमा नेकपाको फुटको कारण र भविष्यमा विकसित हुने परिस्थतिबारे गम्भीर कुराकानी भएको बुझिएको छ ।

भेटमा प्रचण्डले राजदूत यान्छीलाई चीनसँगको सम्बन्धमा झन् सुदृढ हुने बताएको बुझिएको छ । राजदूत यान्छीले नेकपाभित्रको विभाजनबारे गम्भीर चासो राखेकी थिइन् । उनले नेपालमा राजनीतिक अस्थिरता बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको स्रोतले बतायो ।

यसैगरी, राजदूत यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको प्रचण्ड समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई पनि भेट्ने बुझिएको छ ।

नेकपा फुट्दा चीनलाई धक्का पुगेको भारतीय पत्रिकाको जवाफमा चिनियाँ पत्रिकाले भन्योः चीनलाई क्षति पुगेको छैन

यसअघि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मङ्गलबार शितलनिवासमा भेटवार्ता गरेकी छिन् । उनी समय मागेर शितलनिवास गई नेकपा विवादबारे कुराकानी गरेकी थिइन् ।

भदौमा नेकपा विवाद हुँदा राजदूत यान्छीले नेताहरुको निवासमै पुगेर भेटवार्ता गरेकी थिइन् । उक्त भेटपछि नेकपामा सहमति निर्माण भएको थियो । यसपटक भने राजदूत यान्छीले गोप्य तरिकाले भेटघाट गरेपनि नेकपा फुटबाट जोगिएन । दुवै पक्ष आ आफ्नो ढंगबाट कित्ताकाटसहित अगाडि बढिसकेका छन् । निर्वाचन आयोगमा दुवै पक्षका नेताहरुले पुगेर दल र चुनाव चिन्ह दाबी गर्न पुगेका छन् ।

यसैगरी, चिनियाँ पत्रिका ग्लोबल टाइम्सले नेपालमा नेकपाको फुटबाट राजनीतिक अस्थिरता बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । चीनको विदेश मामलासम्बन्धी सन्देश प्रवाह गर्ने ग्लोबल टाइम्सले नेपालमा राजनीतिक अस्थिरता बढाउन खोजेको भन्दै भारतीय सञ्चारमाध्यमको समेत आलोचना गरेको छ ।



प्रतिक्रिया दिनुहोस्