Logo

बादलको कित्ताकाट, आजबाट नेकपा ओली समूहमा



काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य रामबहादुर थापा बादलले कित्ताकाट गरेका छन् । उनी नेकपाको ओली समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् ।

आज ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल अघिल्लो लहरमै देखिएका हुन् । बादल प्रधानमन्त्री समेत रहेका नेकपा अध्यष केपी शर्मा ओलीको बायाँतर्फ बसेका थिए ।

 

बादल गृहमन्त्री छन् । उनी यसअघि कुनैपनि समूहको बैठकमा सहभागी भएका थिएनन् । बादललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा डाकेर हालैमात्र भेटेका थिए । उनलाई नेकपा अध्यक्ष प्रचण्डले पनि पुल्चोक पुगेर भेटेपछि आफ्नो समूहमा आउने बताएका थिए । तर, बादल ओली समूहमा गएका छन् ।

बादलनिकट मानिएका देव गुरुङ, पम्फा भुषाललगायत अधिकांश प्रचण्ड समूहकै नेकपामा छन् । बादलसँगै पूर्व माओवादीका चारजना प्रभावशाली नेता ओली समूहमा लागेका छन् । यसअघि टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा ओली समूहमा सहभागी भइसकेका छन् ।

बादल दश वर्ष माओवादी जनयुद्धमा सहभागी भएका नेता हुन् । रुसमा अध्ययन गरेका उनी तत्कालिन माओवादीका प्रभावशाली नेता थिए । माओवादी मूलधारको राजनीतिमा आएपछि प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा रक्षामन्त्री थिए ।

बादल रक्षामन्त्री हुँदा बहुचर्चित प्रधानसेनापतिलाई हटाउन खोज्ने चर्चित कटवाल प्रकरण भएको थियो । यो घटनापछि प्रचण्ड पदबाट राजीनामा दिन वाध्य भएका थिए । त्यसपछि माओवादी विभाजन हुँदा बादल मोहन वैद्य समूहमा लागेका थिए । पछि उनी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा फर्किए ।

अघिल्लो संसदीय निर्वाचनमा बादल चुनाव लडेनन् । उनी राष्ट्रियसभाका सांसद बनाइए । प्रचण्ड समूहबाट बादल गृहमन्त्री बन्न सफल भए । उनी अहिले पनि गृहमन्त्री छन् ।



प्रतिक्रिया दिनुहोस्