काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि देशको राजनीतिमा नाटकीय घटनाहरु विकास हुन थालेका छन् । यही सेरोफेरोमा कतिपयको बोली फेरिएको छ भने कतिपय ठाउँबाट आश्चर्यजनक सम्भावनाका विषयहरु उठ्न थालेका छन् ।
प्रतिनिधि सभा विघटन अगावै सडकहरुमा हिन्दु राष्ट्र र राजसंस्था फर्काउने पक्षमा प्रदर्शनहरु बढ्दै गएका थिए । त्यसलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेरेका थिए । विघटन पछि भने राजा नै फर्कन सक्नेसम्मको टिप्पणीहरु विदेशीबाट समेत हुन थालेको छ ।
भारतको क्याबिनेटका पूर्व सचिव एस. रमेशले लेखमार्फत् हृदयन्द्रको राजा बन्ने सम्भावना औल्याए । उनले १३ जनवरीमा टेलिग्राफ इन्डियामा सनसनीपूर्ण लेख लेखेर बेबि किङको विगतमा उठेको विषय स्मरण गराउँदै १८ वर्ष पुगेका हृदयन्द्रको सम्भावना औल्याएका हुन् ।
‘हृदयन्द्र राजा बन्ने गरी राजसंस्था फर्कने’ भारतका पूर्व सचिव रमेशको लेखमार्फत् भविष्यवाणी
बेबि नेकपाको पछिल्लो स्थितिपछि चीनले नेपालको घटनाक्रमलाई अध्ययन गरिरहेको हुनसक्ने उनको भनाई छ । बि.स २०६२/६३ मा पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता छाड्न लगाउन करण सिंह नेपाल पुगेको समेत स्मरण गर्दै उनले आफ्नो लेखमा राजसंस्था पुर्नस्थापना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने समेत बताएका छन् । ‘गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्र र पारसलाई हृदयन्द्रका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए,’ एस रमेशले माओवादीले बेबि किङको प्रस्ताव अस्वीकार गरेको विषय उल्लेख गर्दै भनेका छन्,‘के यो विगतमा गरिएको यो आग्रहलाई भेट्रान नेताहरुले पुनःयो विषयलाई मान्यता देलान् ?’
विगतमा राजालाई सौहाद्रपूर्ण तरिकाले गद्दी छाड्न लगाउन कँग्रेस आईका भेट्रान नेता करण सिंहलाई भारत सरकारले काठमाडौं पठाएको उल्लेख गर्दै फेरि आउनसक्ने औल्याएका छन् । तर, यसपटक करण सिंह राजा फर्काउने विषयमा कुरा गर्न आउने उनको आशय छ ।
यता, प्रधानमन्त्री केपी शर्मा ओली नास्तिकबाट आस्तिक भएका छन् । उनले सोमबार पशुपतिनाथमा संकल्प पूजा नै गरेका छन् । संकल्प पूजा विशेष संकल्पका साथ गरिन्छ । कम्युनिस्ट नेताले पशुपतिनाथको दर्शन गर्नुले ठुलो अर्थ राख्छ । देशमा हिन्दुराष्ट्रको मुद्दा उठ्ने सम्भावना औल्याउँदै गर्दा ओलीले पशुपतिनाथमा पुगेर संकल्प पूजा गरेका छन् । यसलाई कतिपयले ओलीको राजनीतिक अस्त्र भनेका छन् ।
यसैगरी, नेपाली काँग्रेसभित्र ओली कि प्रचण्ड कस्को समर्थन गर्ने भन्नेबारे विवाद बढेको छ । काँग्रेस आफ्नो एजेन्डामा स्पष्ट नदेखिएको अवस्थामा ओली र प्रचण्ड मध्ये एकको एजेन्डालाई समर्थन गर्नुपर्ने अवस्थामा छ । देउवाले हेटौंडा पुगेर केही हप्ता अघि स्पष्ट भाषामा काँग्रेसले राजा नल्याउने तर ओलीले ल्याए थाहा छैन भनेका थिए । यो अभिव्यक्तिले निकै अर्थ राख्छ ।