काठमाडौं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री काठमाडौं प्रवेश गरेलगत्तै पक्राऊ पर्न सक्छिन् । उनलाई प्रहरीले उपत्यका छिरेलगत्तै पक्राऊ गर्ने तयारी गरेको छ ।
झाँक्री पक्राऊ पर्ने हल्ला चलिरहँदा उनी भने बाग्लुङमा छिन् । विहानै बाग्लुङ पुगेकी रामकुमारीले भाषण पनि गरेकी छिन् । त्यसअघि कालो चश्मा लगाएर सेल्फी खिचिन् । रामकुमारीले मुस्कानसहित सेल्फी खिचेर सामाजिक सञ्जालमा तस्बिर समेत शेयर गरेकी छिन् ।
झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाइसकेका छन् ।
गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भनेकी छिन् । उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश निन चाहन्छु निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’ –रामकुमारी झाँक्रीको ट्वीटरबाट