काठमाडौं, ३ फागुन । विप्लव कुमार देव भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री हुन् । बेला बेलामा विवादास्पद अभिव्यक्तिले चर्चामा आउने देव फेरि विवादमा तानिएका छन् । यसपटक उनले भारतका गृहमन्त्री अमित साहले नेपाल र श्रीलंकामा भारतीय जनता पार्टीको सरकार गठन गर्ने बताएको विषयबारे बोलेका छन् ।
शनिबार रवीन्द्र सतवार्षिक भवनमा पार्टीको आन्तरिक बैठकमा भारतका गृहमन्त्री साहले नेपाल र श्रीलंकामा पार्टीको संगठन विस्तार गरी सरकार गठन गर्नुपर्ने विषयबारे बोलेको देवको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भाजपाको उत्तरपूर्वी क्षेत्रका सचिव अजय जम्वालले राज्य सरकारको अतिथि गृहमा कुराकानीका क्रममा भारतका अधिकांश राज्यहरुमा भाजपाले सरकार गठन गरेको उल्लेख गर्दा देवले साहको भनाई उदृत गर्दै ‘अब श्रीलंका र नेपाल बाँकी रह्यो । हामीले श्रीलंका र नेपालमा पार्टी विस्तार गर्दै सरकार गठन गर्नुपर्छ’ भनेको समाचारमा उल्लेख छ । देवले यस्तो खुलासा अग्रतालामा बोल्दा खुलासा गरेका हुन् ।
नेपालमा भाजपाले पार्टी संगठन विस्तार गर्ने भन्नुलाई अर्थपूर्ण मानिएको छ । भाजपा निकट मानिने दलको स्थापना र विकासका रुपमा यसलाई हेरिएको छ ।
विप्लवको बोलीप्रति कँग्रेस आई र भारतीय कम्युनिस्ट पार्टीले आपत्ति जनाएका छन् । उनीहरुले यसबारे स्पष्ट पार्टी भाजपालाई भनेका छन् ।
तर, भाजपाका एक नेताले दिल्लीबाट रिपोर्टर्स नेपाललाई बताए अनुसार साहले त्यस्तो नबोलेको र त्रिपुराका मुख्यमन्त्री विप्लव देवसँग त्यसबारे जानकारी मागिएको छ । देवले यसबारे आफ्नो धारणा प्रष्ट पार्ने भएका छन् ।
भारतका गृहमन्त्री अमित साह प्रधानमन्त्री नरेन्द्र मोदीपछिका शक्तिशाली मानिन्छन् । उनी भारतभर भाजपाको संगठन विस्तार र राज्यहरुमा सरकार गठन सुनिश्चित गर्न सक्रिय छन् ।