Logo

के प्रधानमन्त्री ओलीमाथि सुरक्षा थ्रेट बढेको हो ?



काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ज्यानको खतरा रहेको बताएका छन् । आज पोखरामा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूमाथि शारीरिक हमलाको खतरा रहेको बताएका हुन् ।

‘यदि माथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौंठो नमान्नुहोला,’ ओलीले भने । पछिल्लो समय सत्ता संघर्ष चर्कदै जाँदा ओलीले आफैमाथि ज्यानको खतरा रहेको बताएका हुन् । यसले राजनीतिक तरंग ल्याएको छ ।

प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला पछि ओली आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको चर्को आलोचना गर्दै आएका छन् ।

प्रधानमन्त्रीको पदमा रहेका ओलीले ज्यानको खतरा नै छ भन्नु गम्भीर विषय हो । अहिले उनलाई चारवटा सुरक्षा निकायको घेराबाट सुरक्षा रहेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट ओलीलाई सुरक्षा घेरा रहेको छ ।

ओलीको सुरक्षामा सेनाका अधिकृत २४ घन्टा खटिएका हुन्छन् । उनलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै विशेष सुरक्षा हुन्छ । बालुवाटारबाहिर निस्कँदा सेना, प्रहरीलगायतको सुरक्षा निकायको अगुवा पछुवा हुन्छन् । यसरी चार घेराको सुरक्षा रहेका प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको विषय उठाउनु गम्भीर विषय हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot